close

सरकारको आलोचना गर्दा मलाई निरन्तर फेसबुक र फोनमार्फत गोली हान्ने धम्की आइरहेको छ- ऐन महर

टेकपाना टेकपाना

असार ३०, २०८३ १६:३४

सरकारको आलोचना गर्दा मलाई निरन्तर फेसबुक र फोनमार्फत गोली हान्ने धम्की आइरहेको छ- ऐन महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई फेसबुक र फोनमार्फत ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद महरले आफूलाई गोली हानेर मार्ने धम्की दिइएको र धम्की दिने व्यक्तिले चुनौतीस्वरूप आफ्नो परिचय समेत सार्वजनिक गरेको बताए ।

“हामी जनताबाट अभिमत लिएर यो सदनमा आएका हौँ । हामीले सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौँ । तर सदनमा बोलिरहँँदा कहिलेकाहीँ सरकारको विरोध गरेको कुराले केही मान्छेहरूलाई रिस उठ्दो रहेछ, मलाई अहिले निरन्तर फेसबुक र फोनमा धम्की आइरहेको छ,” उनले भने ।

महरले आफूलाई आएको धम्कीको विवरण वाचन गर्दै भने, “पराजुली राम भन्ने फेसबुक आईडीबाट मलाई यस्तो कमेन्ट आएको छ- ‘ऐन महर, आमा कस्सम तँलाई म गोली हानेर मार्छु’ । उनले यति मात्र होइन सभामुख महोदय, उहाँले आफ्नो फोन नम्बर र ठेगाना पनि दिनुभएको छ ।”

सांसद महरका अनुसार धम्की दिने व्यक्तिले आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै आफू काठमाडौँको बौद्ध ६, महांकाल चोकस्थित संगम टोलमा बस्ने दाबी गरेका छन् । उनले अर्का एक व्यक्ति पूर्णविक्रम क्षेत्रीबाट पनि आफूलाई गोली हान्ने धम्की आएको जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १६:३४