close

मिडियाअघि शङ्कास्पद गाडी राखिएको घटनामा रास्वपाले भन्योः लोकतान्त्रिक मूल्य मान्यता उल्लङ्घन

टेकपाना टेकपाना

असार २९, २०८३ १७:५५

मिडियाअघि शङ्कास्पद गाडी राखिएको घटनामा रास्वपाले भन्योः लोकतान्त्रिक मूल्य मान्यता उल्लङ्घन

काठमाडौं । विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शङ्कास्पद रूपमा राखिएको र यस सम्बन्धमा समाचारहरू सार्वजनिक भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा राज्यको चौथो अङ्गका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले यस्ता गतिविधि गरिएको उल्लेख छ । रास्वपाले यसलाई लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो उल्लङ्घन भनेको छ ।

"राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमा धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शङ्कास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन हुन्," विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले आफू लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दल भएको नाताले सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पारेको छ । कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने र सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने गतिविधि पार्टीका लागि किमार्थ स्वीकार्य नहुने चेतावनी समेत दिइएको छ ।

स्वतन्त्र र भय रहित पत्रकारितालाई लोकतन्त्रको प्राण वायुको रूपमा व्याख्या गर्दै रास्वपाले सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यले प्रेरित यस्ता कदमहरूको भर्त्सना गरेको छ । पार्टीले यस घटनाको तत्काल, निष्पक्ष र सत्य-तथ्य छानबिन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

साथै, शङ्कास्पद गतिविधिमा संलग्न जोकोहीलाई तत्काल पहिचान गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरिएको छ । विज्ञप्तिमा, सम्पूर्ण सञ्चार जगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्य तथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै रास्वपा सधैँ सञ्चार गृहहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सोमबार अनलाइन खबर, कान्तिपुर लगायतका सञ्चार माध्यम अघि बेबारिसे रूपमा सवारी साधन पार्किङ गरेर छाडिएको थियो । पछि प्रहरीले ती सवारी साधन क्रेनको सहायताले त्यहाँबाट हटाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८३ १९:८