राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले तयार पारे कोदो झार्ने मसिन, मूल्य ४५ हजार आसपास
मंसिर ७, २०८२ १५:३८
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कोदो झार्ने मसिन तयार पारेको छ । केन्द्रका प्राविधिकले एक महिनाको समय अवधिमा उक्त मसिन तयार पारेका हुन् ।
केन्द्रका संस्थापक एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उक्त मसिन तयार भएको जानकारी दिए । उक्त मसिनले कोदोको दाना र भुस राम्रोसँग छुट्याउन सक्ने उनले बताए ।
मसिनको मूल्य ४५ हजार रुपैयाँ आसपास रहने र आकार अनुसार फरक पर्न सक्ने उनले बताए । गाउँघरमा कृषक समूहहरूले उक्त मसिन खरीद गरेर प्रयोगमा ल्याउन सक्ने उनको भनाइ छ ।
केन्द्रका महाप्रबन्धक सञ्जय शाहले उक्त मसिन केही दिन भित्रै बजारमा पठाउने गरी तयार हुने बताए । उनले भने, “मसिनको विस्तृतमा स्पेसिफिकेसन निकाल्न र मूल्य निर्धारण गर्न बाँकी छ । त्यसपछि केही दिनबाट नै बिक्री सुरु गर्छौँ ।”
यो मसिनलाई हाल कोदो थ्रेसर वा कोदो झार्ने मसिन भनिए पनि औपचारिक नाम भने राख्न बाँकी रहेको शाहले बताए । यो कोदो थ्रेसर मसिन केन्द्रका प्राविधिकहरू बमबहादुर रोका, भागिमान बुढा मगर र रुपिलाल पुनले एक महिना लगाएर तयार पारेका हुन् ।
शाहका अनुसार अहिले कोदो थ्रेसर मसिनको नमुना परीक्षण गरिएको हो । परीक्षण गर्दा मसिन राम्रोसँग चलेपछि यसलाई बजारमा पठाउने तयारी अघि बढाइएको उनले जानकारी दिए ।
यो मसिन गाउँघरमा कम क्षमता भएका विद्युत्ले पनि धान्न सक्ने उनको भनाइ छ । उनले भने, “यो मसिन टु फेज विद्युत् लाइनमा पनि सजिलै चलाउन सकिन्छ ।”
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १५:३८
