close

विश्वकप लाइभ देखाइरहेको डिगोलाई सरकारको आधिकारिक मान्यता, पायो ओटीटी एपको पहिलो लाइसेन्स

टेकपाना टेकपाना

असार ९, २०८३ १२:१७

विश्वकप लाइभ देखाइरहेको डिगोलाई सरकारको आधिकारिक मान्यता, पायो ओटीटी एपको पहिलो लाइसेन्स

काठमाडौं । डिशहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित ओटीटी प्लेटफर्म डिगो (DGO) नेपालको पहिलो आधिकारिक ओटीटी लाइसेन्स प्राप्त गर्ने सेवा प्रदायक बनेको छ । आधिकारिक ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै डिगोले नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै आफ्नो उपस्थितिलाई मजबुत बनाउने बताएको छ ।

डिशहोम डिजिटल प्रालिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावली बमोजिम ओटीटी प्रसारण सेवाका लागि आवश्यक इजाजतपत्र प्राप्त गरेको हो । यो अनुमतिसँगै कम्पनीले सञ्चालन गरिरहेको ओटीटी सेवा आधिकारिक रूपमा नेपालको प्रचलित कानुनी व्यवस्था तथा नियमनको दायरामा आएको छ ।

डिगोले ओटीटी स्ट्रिमिङ अधिकारमार्फत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटल सामग्री वितरण गर्ने आफ्नो क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धता स्पष्ट भएको जनाएको छ । यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्न महत्त्वपूर्ण आधार तयार गरेको कम्पनीको विश्वास छ ।

सब्स्क्रिप्सनमा आधारित यो डिजिटल स्ट्रिमिङ प्लेटफर्मले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण (लाइभ), खेलकुद, वृत्तचित्र र बाल सामग्री लगायतका विविध गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्रीहरू सुरक्षित, सहज र आधिकारिक माध्यमबाट दर्शकहरूमाझ उपलब्ध गराउँदै आएको छ ।

आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सेवा सञ्चालन गर्नु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यसले डिशहोम डिजिटल प्रालिलाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरणको क्षेत्रमा सक्षम र विश्वसनीय संस्थाको रूपमा स्थापित गर्न सघाएको छ । कम्पनीले डिगो ओटीटीलाई चलचित्र, सिरिज, खेलकुद र लाइभ प्रसारणका लागि नेपालको अग्रणी प्लेटफर्मको रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव (User Experience), आधिकारिक डिजिटल सामग्री र अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकहरूलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ । डिगोलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता समेत डिशहोम डिजिटलले व्यक्त गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ९, २०८३ १२:३५