जर्जियाको संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच कुटाकुट, भिडिओ भाइरल
असार १३, २०८३ १४:१४
काठमाडौं । जर्जियाको संसदमा प्रधानमन्त्रीको सम्बोधनका क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच कुटाकुट भएको छ । शुक्रबार राजधानी तिबिलिसीस्थित संसद भवनमा प्रधानमन्त्री इराक्ली कोबाखिद्जेले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरिरहँदा विवाद उत्पन्न भएपछि सांसदहरू एकापसमा मुक्कामुक्की र धरपकडमा उत्रिएका हुन् ।
विपक्षी दल फर जर्जियाका सांसद जर्जी शाराशिद्जेले सम्बोधनका क्रममा प्रधानमन्त्रीको परराष्ट्र नीति र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभको भ्रमणलाई लिएर कडा आलोचना गरेपछि सदनमा तनाव सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिँदा सत्ताधारी जर्जियन ड्रिम पार्टी र विपक्षी सांसदहरूबिच हानाहान भएको थियो ।
भाइरल भिडियोमा महिला सांसदहरू समेत कुटाकुट र धकेलाधकेलमा संलग्न देखिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्नुपरेको थियो भने केही समयका लागि संसदको बैठक स्थगित गरिएको थियो ।
यो झडपलाई जर्जियामा लामो समयदेखि जारी राजनीतिक संकटको अर्को कडीका रूपमा हेरिएको छ । सन् २०२४ को संसदीय निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद बहिष्कार गर्दै आएका छन् । सरकारले ल्याएको विवादास्पद ‘फरेन एजेन्ट्स’ कानुन र युरोपेली युनियनसँगको सम्बन्ध तोडेर रुसतर्फ झुकाव बढाएको भन्दै जर्जियामा निरन्तर प्रदर्शन भइरहेका छन् ।
विपक्षीहरूले वर्तमान सरकारलाई रुसी एजेन्ट र लोकतन्त्र विरोधीको संज्ञा दिएका छन् ।
संसदभित्रै भएको यो कुटाकुटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न प्रतिक्रिया आएका छन् । केहीले यसलाई ‘संसद हो कि कुस्ती मैदान ?’ भन्दै व्यङ्ग्य गरेका छन् भने कतिपयले ‘यही पाराले कसरी ईयूको सदस्यता पाइन्छ ?’ भन्दै प्रश्न उठाएका छन् ।
जर्जियाको यो कुटाकुटको भिडिओ अहिले नेपालमा पनि भाइरल भइरहेको छ । नेपाली प्रयोगकर्ताहरूले यसलाई नेपालको संसदीय इतिहाससँग जोडेर विभिन्न व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । केहीले यस दृश्यलाई ०७२ सालमा नयाँ संविधान निर्माणका क्रममा नेपालको संसदमा भएको तोडफोडसँग तुलना गरेका छन् ।
त्यतिबेला तत्कालीन माओवादी लगायतका विपक्षी सांसदहरूले कुर्सी तोडफोड गर्ने, माइक्रोफोन खोस्ने लगायतका गतिविधि गर्दा मर्यादापालकहरू घाइते भएका थिए । त्यस्तै, पछिल्लो समय प्रतिनिधिसभामा विभिन्न विधेयक र सीमा विवादका मुद्दामा धक्कामुक्की, वेल घेराउ र नाराबाजीका घटना भएका थिए ।
पछिल्लो अध्यावधिक: असार १३, २०८३ १४:२६
