ब्लगर तथा फ्याक्टचेकर उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त
असार २९, २०८३ १७:२४
काठमाडौं । सरकारले डिजिटल पत्रकार तथा तथ्यजाँचकी उमेश श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा पछिल्लो मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन् ।
सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामले समेत परिचित उनीसँग छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशक बढी अनुभव रहेको छ ।
वि.सं. २०३३ सालमा जन्मिएका श्रेष्ठले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । उनले आफ्नो पत्रकारिता यात्राको सुरुवाती चरणमा ‘नयाँ सडक’ राष्ट्रिय दैनिक र ‘स्पेसटाइम’ राष्ट्रिय दैनिकमा उप-सम्पादक तथा ‘सिटी टाइम्स’मा सम्पादकका रूपमा काम गरेका थिए । छापा माध्यमपछि उनले च्यानल नेपाल र एभिन्युज टेलिभिजनमा वरिष्ठ संवाददाता तथा प्रड्युसरका रूपमा पनि काम गरेका थिए ।

डिजिटल पत्रकारिताको विकाससँगै श्रेष्ठ अनलाइन सञ्चार माध्यममा सक्रिय रहे । उनले नागरिकन्युज डटकममा पाँच वर्ष वरिष्ठ संवाददाता, अन्नपूर्णपोस्ट डटकममा करिब एक वर्ष उपसम्पादक र पहिलोपोस्ट डटकममा वि.सं. २०७१ साउनदेखि २०७६ असारसम्म पाँच वर्ष सम्पादकका रूपमा कार्य गरेका थिए ।
श्रेष्ठले ६ अप्रिल २००५ देखि नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ सञ्चालनमा ल्याएका थिए । नेपालमा अडियो र भिडिओ ब्लगिङको सुरुआत गर्ने श्रेयसमेत माइसंसारलाई जान्छ ।
उनी सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्य हुन् । श्रेष्ठले सीएमआर जर्नालिज्म एकेडेमीमार्फत सञ्चारकर्मीका लागि तथ्यांक पत्रकारिता, तथ्यजाँच (फ्याक्ट चेकिङ) र डिजिटल सुरक्षा सम्बन्धी तालिम सहजकर्ताका रूपमा प्रदान गर्दै आएका छन् ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ १७:३६
