एआईको राजनीतिक रङ्गः तटस्थ भनिएका च्याटबटहरूमा देखियो राजनीतिक पूर्वाग्रह
असार १६, २०८३ १२:०
- द वासिङ्टन पोस्ट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य कन्जरभेटिभहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटहरू आफूहरू विरुद्ध राजनीतिक रूपमा पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले हालै हस्ताक्षर गरेको एक कार्यकारी आदेशमा एआई प्रणालीहरू “तटस्थ र गैरपक्षपाती उपकरण” हुनुपर्ने उल्लेख गरिएपछि डेमोक्र्याट समर्थकहरूमा भने एआई दक्षिणपन्थी विचारधारातर्फ झुक्न सक्ने चिन्ता बढेको छ ।
त्यसो भए, के च्याटबटहरू राजनीतिक रूपमा पूर्वाग्रही छन् ?
यस प्रश्नको उत्तर खोज्न ‘द वासिङ्टन पोस्ट’ ले ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई लगायतका एआई च्याटबटहरूमा राजनीतिक रूपमा संवेदनशील र विवादास्पद विषयसँग सम्बन्धित प्रश्नहरू परीक्षण गरेको थियो । अनुसन्धानकर्ताहरूले यी प्रश्नहरू च्याटबटहरूले राजनीतिक मुद्दामा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने मूल्याङ्कन गर्न तयार पारेका थिए ।
च्याटजीपीटीले परीक्षणका क्रममा सोधिएका लगभग सबै प्रश्नमा मुख्यतः वामपन्थी (लेफ्ट-लिनिङ) तर्कहरू मात्र प्रस्तुत गरेको पाइएको छ । परीक्षणमा उसले केवल एक पटक मात्रै दक्षिणपन्थी (राइट-लिनिङ) दृष्टिकोणलाई एकल रूपमा प्रस्तुत गरेको थियो । यता गुगलको जेमिनाईले भने अधिकांश अवस्थामा दुवै पक्षका तर्क समेट्ने प्रयास गरेको देखियो । यसको ९० प्रतिशतभन्दा बढी उत्तरमा वामपन्थी र दक्षिणपन्थी दुवै दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
कन्जर्भेटिभ दृष्टिकोणलाई प्राथमिकता दिने दाबीका साथ प्रचार गरिएका एआई मोडेलहरूमा समेत वामपन्थी तर्कहरूको प्रभाव बढी देखिएको छ । उदाहरणका लागि, एलन मस्कसँग सम्बन्धित कम्पनी एक्सएआईको च्याटबट ग्रोकले पनि औसतमा दक्षिणपन्थीभन्दा वामपन्थी तर्कहरूलाई बढी प्रस्तुत गरेको परीक्षणले देखाएको छ ।
द वासिङ्टन पोस्टको यो परीक्षणको नतिजा यसअघि प्रकाशित विभिन्न शैक्षिक अध्ययनहरूसँग पनि मेल खान्छ । ती अध्ययनहरूले च्याटबट सञ्चालन गर्ने एआई मोडेलहरू प्रायः वामपन्थी (लेफ्ट–लिनिङ) दृष्टिकोणतर्फ झुकाव राख्ने गरेको निष्कर्ष निकालेका थिए ।
डार्टमुथ कलेजकको ‘पोलराइजेशन रिसर्च ल्याब’ का निर्देशक सन वेस्टवुडका अनुसार विश्वका घटनाक्रम र समाचार बुझ्नका लागि मानिसहरूले एआई उपकरणहरूको प्रयोग बढाउँदै लगेका कारण यिनीहरूले कुन प्रकारका राजनीतिक धारणा वा दृष्टिकोणलाई बढी प्राथमिकता दिन्छन् भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ । उनले भने, “औसतमा हेर्दा यी एआई उपकरणहरूले जटिल नीतिगत बहसहरूको वास्तवमै तटस्थ प्रस्तुति दिइरहेका छैनन् ।”
वेस्टवुडका अनुसार एआई च्याटबटहरूले कुनै विषयका सबै पक्षलाई समान रूपमा प्रस्तुत नगरी निश्चित दृष्टिकोणलाई बढी महत्व दिन सक्ने भएकाले तिनको प्रभावबारे सचेत रहन आवश्यक छ । वासिङ्टन पोस्टले आफ्नो परीक्षणको आधार गत वर्ष पोलराइजेशन रिसर्च ल्याब र स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको सहकार्यमा प्रकाशित अध्ययनलाई बनाएको थियो ।
उक्त अध्ययनका लागि अनुसन्धानकर्ताहरूले मानिसहरूले च्याटबटसँग सोध्न सक्ने खालका दुई दर्जनभन्दा बढी राजनीतिक प्रश्नहरू तयार गरेका थिए, जसको उद्देश्य एआईले संवेदनशील राजनीतिक विषयमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने मूल्याङ्कन गर्नु रहेको थियो ।
एआई मोडेलहरूलाई पर्सनलाइजेसन सम्बन्धी कुनै सेटिङ सक्रिय नगरी प्रत्येक प्रश्नको उत्तर ३० शब्दभित्र दिन भनिएको थियो । त्यसपछि एक पत्रकारले ती उत्तरहरूको समीक्षा गर्दै तिनमा वामपन्थी, दक्षिणपन्थी वा दुवै प्रकारका दृष्टिकोण समावेश छन् कि छैनन् भन्ने आधारमा मूल्याङ्कन गरेका थिए । यद्यपि राजनीतिक विषयहरू सधैं स्पष्ट रूपमा दलगत धारमा विभाजित हुँदैनन् । परीक्षणमा समावेश प्रश्नहरूले विभिन्न विषय र मुद्दाहरूलाई समेटेका थिए ।
साथै, वासिङ्टन पोस्टले एआई मोडेलहरूले एउटै प्रकारका प्रश्नमा निरन्तर र एकरूप जवाफ दिइरहेका छन् वा छैनन् भन्ने पनि जाँच गरेको थियो । निर्वाचनमा कम्पनीहरूले गर्न पाउने खर्चसम्बन्धी प्रतिबन्ध खुकुलो बनाएको सन् २०१० को अमेरिकी सर्वोच्च अदालतको ‘सिटिजन्स युनाइटेड’ फैसलाबारे सोधिएको प्रश्नको जवाफमा ओपनएआईको मोडेलले उक्त फैसला उल्ट्याइनुपर्ने राय दिएको थियो । गुगल र एन्थ्रोपिकका च्याटबटले भने विपरीत दृष्टिकोण प्रस्तुत गरेका थिए ।
समग्रमा ओपनएआईको मोडेलले सबैभन्दा बढी एकतर्फी उत्तर दिएको अध्ययनले देखाएको छ । यसका ८० प्रतिशत उत्तरहरूमा वामपन्थी झुकावका तर्क मात्र प्रस्तुत गरिएको थियो । यसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि इलेक्टोरल कलेज प्रणाली खारेज गरी प्रत्यक्ष लोकप्रिय मतका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने, धनी व्यक्तिमाथि कर बढाउनुपर्ने तथा सरकारद्वारा सञ्चालित एकल-भुक्तानी (सिङ्गल-पेयर) स्वास्थ्य सेवा प्रणाली लागू गर्नुपर्ने पक्षमा समर्थन जनाएको थियो ।
चिनियाँ कम्पनी डिपसिकको एआई मोडेल पनि ओपनएआईकै मोडेल जस्तो देखिएको छ । यसको उत्तरहरूमा पनि वामपन्थी झुकाव देखिएको अध्ययनले जनाएको छ । दुवै मोडेलले मृत्युदण्डको विपक्षमा तर्क गरेका थिए, जबकि कन्सलटिङ कम्पनी ‘ग्यालप’ का अनुसार दशकौँदेखि अधिकांश अमेरिकी नागरिकले मृत्युदण्डलाई निरन्तर समर्थन गर्दै आएका छन् ।
यता, गुगलकी प्रवक्ता लरेन फाइनले जेमिनाईलाई कुनै पनि राजनीतिक विचारधाराको पक्ष नलिई सन्तुलित जवाफ दिन सक्ने गरी डिजाइन गरिएको बताएकी छिन् । वासिङ्टन पोस्टको परीक्षणमा देखिएका एकतर्फी उत्तरहरूलाई कम्पनीले पुनः दोहोर्याएर देखाउन नसकेको पनि उनले बताइन् ।
एन्थ्रोपिकका प्रवक्ता माइकल आसिमनले भने, “हामी क्लाउडलाई सबै राजनीतिक दृष्टिकोणलाई समान रूपमा व्यवहार गर्ने गरी प्रशिक्षण दिन्छौँ र प्रत्येक मोडेल सार्वजनिक गर्नुअघि पूर्वाग्रह (बायस) को व्यापक परीक्षण गर्छौं ।”
उनका अनुसार, वासिङ्टन पोस्टले गरेको परीक्षणले अधिकांश प्रयोगकर्ताले कम्पनीका उत्पादनहरू प्रयोग गर्ने वास्तविक तरिकालाई प्रतिनिधित्व गर्दैन । साथै, राजनीतिक विषयमा छलफल गर्दा क्लाउडले आवश्यक सन्दर्भ र पृष्ठभूमिसहित विस्तृत जवाफ दिन पर्याप्त अवसर पाउने उनले बताए ।
च्याटबटहरूले विभिन्न तरिकाबाट राजनीतिक दृष्टिकोण आत्मसात् गर्न सक्छन् । अधिकांश च्याटबटहरू इन्टरनेटबाट सङ्कलन गरिएका विशाल पाठ्य सामग्रीमा आधारित भएर प्रशिक्षित हुन्छन् तर कुन डेटा समावेश गर्ने भन्ने निर्णय कम्पनीहरूले नै गर्छन् । एआई कम्पनीहरूले आफ्ना मोडेलका उत्तरहरूलाई अझ परिष्कृत बनाउन कर्मचारीहरू नियुक्त गर्छन् । उनीहरूले कुन उत्तर राम्रो हो भनेर मूल्याङ्कन गर्छन् । साथै, कम्पनीहरूले च्याटबटले कसरी प्रतिक्रिया दिन्छ भन्ने निर्धारण गर्ने ‘सिस्टम इन्स्ट्रक्सन’ पनि तयार पारेका हुन्छन् ।
मिशिगन विश्वविद्यालयमा सामाजिक सञ्जाल र अन्य प्रविधिले राजनीतिक ध्रुवीकरणमा पार्ने प्रभावबारे अध्ययन गरेकी चेरेन बुडाकका अनुसार प्रविधि कम्पनीहरूले एआई विकासका क्रममा गर्ने यस्ता निर्णयहरूले दलगत राजनीतिभन्दा बाहिरका पूर्वाग्रह पनि मोडेलमा समावेश गराउन सक्छन् । उनी भन्छिन्, “एआई मोडेललाई आकार दिने डेटा प्रायः पश्चिमी, शिक्षित, औद्योगिक, सम्पन्न र लोकतान्त्रिक समाजका मानिसहरूको मूल्य-मान्यताबाट प्रभावित हुन्छ ।”
केही कम्पनीहरूले आफ्ना एआई उत्पादनहरूलाई निश्चित राजनीतिक मूल्य-मान्यता प्रवर्द्धन गर्ने गरी डिजाइन गर्छन् । एलन मस्कले “सत्य खोज्ने” र “वोक (woke) विचारधारा विरोधी” एआई च्याटबटका रूपमा प्रचार गरेको ग्रोकले द वासिङ्टन पोस्टको परीक्षणमा अन्य सबै च्याटबटभन्दा बढी दक्षिणपन्थी झुकाव भएका उत्तर दिएको देखियो । तर धेरै अवस्थामा यसले पूर्ण रूपमा वामपन्थी दृष्टिकोण झल्किने उत्तर पनि दिएको पाइएको छ ।
द वासिङ्टन पोस्टको अध्ययनले समग्रमा एआई च्याबटहरू राजनीतिक रूपमा तटस्थ नरहेको देखाएको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८३ १२:६
