अपिको भाइरल भिडिओ खिच्ने भट्ट भन्छन्ः सरकारसँग नेपाल चिनाउने पर्याप्त डिजिटल सामग्री नहुनु दुःखद
असार १९, २०८३ ७:१९
काठमाडौं । दार्चुलाको अपि हिमाल बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको भाइरल भिडिओ खिचेका हिमालय भट्ट (फेरुवा) ले नेपालको डिजिटल पर्यटन प्रवर्धनमा सरकारी निकायहरूको उदासीनताप्रति प्रश्न उठाएका छन् । करोडौं रुपैयाँ खर्च हुँदा पनि राज्यका निकायहरूसँग देश चिनाउने गुणस्तरीय डिजिटल सामग्री नहुनु दुःखद भएको उनको भनाइ छ ।
बिहीबार फेसबुकमा एक पोस्ट राख्दै भट्टले पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड जस्ता सरकारी कार्यालयहरूको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले अहिलेसम्म करोडौँभन्दा बढी बजेट खर्च भइसक्दा पनि नेपालका कुनै पनि पर्यटनसम्बन्धी कार्यालयहरूसँग देशको वास्तविक सुन्दरता र अथाह सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने स्तरका पर्याप्त डिजिटल सामग्रीहरू नहुनु वास्तवमै दुःखद भएको बताएका छन् ।
दार्चुलाका स्थानीय बासिन्दा भट्टले नेपाललाई केवल सतही प्रचारभन्दा पनि सही र स्तरीय प्रस्तुतिको आवश्यकता रहेको औँल्याएका छन् । "नेपाल धेरैले अहिलेसम्म देखेको भन्दा पनि धेरै अद्भुत, सुन्दर र सम्भावनायुक्त देश हो," उनले भनेका छन्, "अब आवश्यक भनेको त्यो सम्भावनालाई भाषणमा होइन, संसारले देख्ने गरी सही रूपमा प्रस्तुत गर्नु हो ।"
आफूलाई दार्चुलामा बसेर काम गर्ने एउटा सामान्य व्यक्तिका रूपमा चिनाउँदै भट्टले पश्चिम नेपालको प्राकृतिक सुन्दरता र पर्यटनको सम्भावनालाई विश्वस्तरमा चिनाउने आत्मविश्वास आफूसँग रहेको बताएका छन् । नेपालका हरेक कुनामा रहेका धेरै प्रतिभाशाली सिर्जनाकर्ताहरूलाई राज्यले काम गर्ने अवसर मात्र दिने हो भने संसारले नेपाललाई हेर्ने दृष्टिकोण नै बदलिन सक्ने उनको दाबी छ ।
तर, नेपालमा राष्ट्रियस्तरमा योगदान पुर्याउन खोज्ने यस्ता युवाहरूलाई प्रोत्साहनको भने चरम अभाव रहेको उनले गुनासो गरेका छन् । उचित कदर नभएकै कारण धेरै प्रतिभाशाली युवाहरू पर्यटन प्रवर्धनको आफ्नो रहर त्यागेर वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा पलायन हुन बाध्य भइरहेका छन् । पर्यटनमन्त्री गनेश पौडेलले भट्टको फेसबुक पोस्टमा 'तपाईलाई भेट्न मन छ' भन्ने प्रतिक्रिया दिएका छन् ।
भट्टले खिचेको अपि हिमाल बेसक्याम्प (दार्चुला) मा क्रिकेट खेल्दै गरेको भिडिओ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेपछि निकै भाइरल भएको थियो । उक्त भिडिओ २६ मे २०२६ मा भट्टले अपि हिमाल बेसक्याम्पमा डकुमेन्ट्री खिच्ने क्रममा यार्सागुम्बा टिप्न गएका स्थानीय युवाहरू फुर्सदमा क्रिकेट खेलिरहेको बेला कैद गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले भट्टसँग औपचारिक अनुमति लिएर मात्र यो भिडिओ शेयर गरेको थियो ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ ७:१९
