close

ट्रोल बनाउनेलाई धन्यवाद, भोलि तपाईंका सन्तानले यस्तो भोग्न नपरोस्: सांसद केपी खनाल

टेकपाना टेकपाना

असार १७, २०८३ १८:३२

ट्रोल बनाउनेलाई धन्यवाद, भोलि तपाईंका सन्तानले यस्तो भोग्न नपरोस्: सांसद केपी खनाल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नो बचाउ गरेका छन् । उनले मानवीय त्रुटिका कारण शब्द चिप्लिएको स्पष्ट पार्दै आफूलाई जिस्क्याउनेहरूलाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिएका छन् ।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले संसद्‌मा कर्मचारीहरूको पीडा र समस्याबारे बोल्दाबोल्दै आफ्नो जिब्रो लट्पटिएको बताए । उनले यसलाई सिकाइको प्रक्रियाका रूपमा लिन आग्रह गर्दै भने, “सिकाइको प्रक्रिया हो, बोल्दाबोल्दै जिब्रो लट्पटिन्छ । ठीक छ, ट्रोल बनाउनेहरूलाई धन्यवाद दिन चाहन्छु, ताकि उहाँहरूको सन्तान र परिवार भोलि कर्मचारी भएर यसरी नै ट्रोलको सिकार बन्न नपरोस् ।”

गत आइतबारको प्रतिनिधिसभा बैठकमा खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको विषय उठाइरहेका थिए । स्थानीय र प्रदेश सरकारको विवादका कारण अस्पताल सञ्चालनमा आएको अवरोध र त्यहाँका कर्मचारीले समयमा तलब नपाएको पीडादायी अवस्थाबारे बोल्ने क्रममा उनको मुखबाट ‘सभामुख’ हुनुपर्नेमा झुक्किएर ‘कर्मचारी’ शब्द निस्किएको थियो ।

सम्बोधनलगत्तै सभामुखले माइक काटेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि खनालले सञ्चारमाध्यमहरूको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले निर्धारित समय सकिएका कारण माइक काटिएको दाबी गर्दै मिडियाले यसलाई अतिरञ्जित गरेको बताए ।

“कर्मचारीले काम गर्न र तलब पाउन नसकेको विषयमा बोल्दाबोल्दै अन्तिम समयमा माइक काटिएको हो,” उनले थपे, “तर मिडियाले सभामुखले नै रिसले माइक काटेको जस्तो गरी समाचार सम्प्रेषण गरे, जुन सत्य होइन ।”

सांसद खनालले लम्कीचुहा अस्पताललाई मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते नै स्वीकृति दिइसकेको भए पनि राजनीतिक खिचातानीका कारण जनताले स्वास्थ्य सेवा पाउन नसकेको र कर्मचारीहरू मर्कामा परेको विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए । संसद्मा आफ्नो गम्भीर कुराभन्दा पनि एउटा शब्दलाई लिएर ट्रोल बनाइएकोमा उनले चित्त दुखाएका छन् ।

पछिल्लो अध्यावधिक: असार १७, २०८३ १८:४७