अभिनेत्री रजकबारे राजबल्लभ कोइरालाको टिप्पणीः प्रशंसकको कल-मेसेज आउँदा रोइलो गर्नु आवश्यक छैन
असार १८, २०८३ ११:२९
काठमाडौं । कलाकार उषा रजकले आफूमाथि भएको अनलाइन दुर्व्यवहार र प्रहरीको कार्यशैलीविरुद्ध आवाज उठाएका बेला अर्का कलाकार राजबल्लभ कोइरालाले सामाजिक सञ्जालको मर्यादा र यसको व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । कोइरालाले सामाजिक सञ्जालमा जोडिएपछि प्रशंसकहरूबाट फलो, लाइक, कमेन्ट, मेसेज र कल आउनु स्वाभाविक भएको र यसलाई लिएर सार्वजनिक रूपमा 'रोइलो' गरिरहनु आवश्यक नभएको टिप्पणी गरेका हुन् ।
कलाकार कोइरालाले आफ्नो फेसबुक पोस्टमार्फत कलाकार र आम प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो डिजिटल स्पेस सुरक्षित राख्ने साँचो आफ्नै हातमा हुने स्पष्ट पारेका छन् । प्रविधिले कल म्युट गर्ने, मेसेज आर्काइभ गर्ने, डिलिट वा ब्लक गर्ने जस्ता थुप्रै नियन्त्रणका विकल्पहरू दिएकाले तिनको सही प्रयोग गर्न उनले सुझाएका छन् ।
सामाजिक सञ्जालमा चर्चा र उपस्थितिको आनन्द लिने तर त्यसका कारण सिर्जना हुने केही असहज पक्षहरूलाई व्यवस्थापन गर्न नसकेर आत्तिनु परिपक्वता नभएको कोइरालाको तर्क छ । उनले चर्चा र गोपनीयताबिच सन्तुलन मिलाउन सक्नु नै वास्तविक डिजिटल साक्षरता भएको उल्लेख गर्दै बलियो मानसिक दायरा बनाएर परिपक्व ढङ्ले सामाजिक सञ्जाल चलाउन आह्वान गरेका छन् ।
अभिनेत्री उषा रजकले भने सामाजिक सञ्जालमा हुने अनलाइन दुर्व्यवहारलाई प्रहरीले समेत हल्का रूपमा लिएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । सञ्जोग कार्की नाम गरेका व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरी हाईको रिप्लाई फर्काउँदा रातको समयमा पटक-पटक फोन गरेर मानसिक तनाव दिएको दाबी गरेकी थिइन् । रजकले 'कसैको ‘हाई’ को रिप्लाई दिनुको अर्थ उसलाई रातभर फोन गरेर ह्यारेस गर्ने अनुमति दिएको होइन' भन्दै यस किसिमको कलले महिलाहरूमा गहिरो मानसिक असर पार्ने उनको बुझाई छ ।
प्रहरीको साइबर शाखामा उजुरी गर्न खोज्दा आफूलाई उजुरी दर्ता गर्नुको साटो 'ब्लक गर्ने' सल्लाह मात्रै पाएको रजकको भनाइ थियो । प्रहरीले अपशब्द वा गालीगलौजको प्रमाण विना उजुरी दर्ता गर्न नसकिने अडान लिएकोमा असन्तुष्टि जनाउँदै रजकले 'ब्लक गर्नु' समस्याको स्थायी समाधान नभएको तर्क गरेकी छिन् । उनले भर्चुअल स्पेसको तुलना सडकसँग गर्दै भनेकी छिन्, "पहिले सडकमा जिस्क्याउँदा बाटो परिवर्तन गर भनिन्थ्यो, अहिले अनलाइनमा दुर्व्यवहार हुँदा ब्लक गर भनिन्छ । तर, क्रिमिनल मेन्टालिटी भएको मान्छेले अर्को अकाउन्ट खोलेर फेरि आउन सक्छ । समस्याको जड मान्छे हो, अकाउन्ट होइन ।"
रजकले आफूलाई हैरानी दिने व्यक्ति 'दीपल' कार व्यवसायसँग आबद्ध रहेको र उनका भाइ गृहमन्त्रीको सचिवालयमा पीएको रूपमा कार्यरत रहेकाले शक्तिको मातमा यस्तो हर्कत गरिएको दाबी गरेकी छिन् । उनले यो विषय आफ्नो व्यक्तिगत समस्या मात्र नभएर समग्र महिला सुरक्षाको मुद्दा भएको र भोलिका छोरीहरूले यस्तो मानसिक तनाव भोग्न नपरोस् भन्नका लागि कडा साइबर नीति र महिलाका लागि सुरक्षित वातावरण आवश्यक रहेको बताएकी छिन् ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ ११:२९
