close

सरकारको निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय ६२ जना बिरामीले लिए निःशुल्क सेवा

टेकपाना टेकपाना

असार २०, २०८३ १७:३८

सरकारको निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय ६२ जना बिरामीले लिए निःशुल्क सेवा

काठमाडौं । वर्तमान सरकारले आफ्नो कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेको छ । सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार २६२ जना विपन्न तथा असहाय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण गरिएको freehealth.mohp.gov.np पोर्टलमा हालसम्म देशभरका १९६ वटा अस्पताल आबद्ध भएका छन् । ती अस्पतालहरूमा कुल तीन हजार ४५ वटा निःशुल्क शैयाहरू छुट्याइएको छ । जसको जानकारी सर्वसाधारणले घरमै बसेर अनलाइनमार्फत लिन सक्ने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयले वीर, कान्ति बाल, ट्रमा सेन्टर, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी पाँच प्रमुख अस्पतालको सेवा प्रवाहलाई अनलाइनबाटै सुपरिवेक्षण गर्न मिल्ने गरी ‘एकीकृत ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ ।

यसैगरी, स्थानीय तहसम्मकै खोप, सुरक्षित मातृत्व, परिवार योजना र पोषण जस्ता जनस्वास्थ्यका कार्यक्रमहरूको प्रगति अनुगमन गर्न छुट्टै एकीकृत स्वास्थ्य ड्यासबोर्ड पनि सञ्चालनमा आएको जानकारी दिइयो ।

सरकारी अस्पतालहरूमा बिरामीको चाप र उपचार प्रक्रियालाई व्यवस्थित गर्न 'बिरामी अभिलेख प्रणाली' (Patient Record System) विकास गरी पाँचवटा संघीय अस्पतालहरूमा पाइलटिङ सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जी.पी. कोइराला श्वासप्रश्वास केन्द्र, पाटन अस्पताल, टेकु अस्पताल लगायतका स्वास्थ्य संस्थामा औषधि मौज्दात र मूल्यको जानकारी डिजिटल प्रणालीमार्फत दिन सुरु गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन कार्डियाक सेन्टर जस्ता अस्पतालहरूले फार्मेसी विवरण क्यूआरमार्फत हेर्न मिल्ने व्यवस्था मिलाएका छन् ।

 

पछिल्लो अध्यावधिक: असार २०, २०८३ १७:३८