भारतमा गुडिरहेको ई-रिक्सा बीच सडकै ठप्प पार्ने 'ब्याट्री ह्याकिङ', ७ एप हटाउन निर्देशन
असार २१, २०८३ १२:५५
काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (MeitY) ले गुगल एन्ड्रोइड र एप्पल आईओएसलाई लिथियम आयन ब्याट्री व्यवस्थापनसँग सम्बन्धित ७ वटा मोबाइल एपहरू हटाउन सूचना जारी गरेको छ । भारतीय समाचार एजेन्सी ‘एएनआई’ का अनुसार यी एपहरूको दुरूपयोग गरी विद्युतीय रिक्सा (ई-रिक्सा) का ब्याट्रीहरू निष्क्रिय पार्ने काम भइरहेको थियो ।
भएको के हो ?
भारतमा पछिल्लो समय केही व्यक्तिहरूले ब्याट्री व्यवस्थापन (Battery Management) एपहरूको दुरूपयोग गरेर गुडिरहेका ई-रिक्साहरूलाई बीच बाटोमै ठप्प पार्ने काम गरिरहेका थिए । ती व्यक्तिहरूले आफ्नो मोबाइलमा भएका एपहरूको मद्दतले नजिकै गुडिरहेका ई-रिक्साका ब्याट्रीहरूसँग ब्लुटुथमार्फत कनेक्ट गर्थे । ब्याट्रीसँग कनेक्ट भइसकेपछि उनीहरूले एपकै माध्यमबाट ब्याट्रीको पावर सप्लाई (विद्युत् प्रवाह) बन्द गरिदिन्थे । ब्याट्रीबाट पावर आउन छाडेपछि ई-रिक्सा गुड्दागुड्दै बीच बाटोमै रोकिन्थ्यो र चल्न नसक्ने अवस्थामा पुग्थे ।
एएनआईका अनुसार ती पहिचान गरिएका एपहरूमा BAT-BMS, SMART BMS, LOSSIGY, Epoch Li-ion लगायत रहेको सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यी एपहरू मूलतः ब्याट्रीका मालिक तथा प्राविधिकहरूका लागि ब्याट्रीको अवस्था निगरानी गर्न र व्यवस्थापनमा सहयोग पुर्याउन बनाइएका थिए । तर ब्याट्री प्रणालीमा पर्याप्त सुरक्षा व्यवस्था नभएको अवस्थामा तिनै एपहरू प्रयोग गरेर ब्याट्रीको सञ्चालनमा अनधिकृत हस्तक्षेप गरी अवरोध पुऱ्याउन सकिने दाबी गरिएको छ ।
ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) भनेको के हो ?
हरेक लिथियम-आयन ब्याट्रीमा ब्याट्री व्यवस्थापन प्रणाली हुन्छ । यसले ब्याट्रीको नियन्त्रण प्रणालीका रूपमा काम गर्दै चार्जको स्तर, तापक्रम, भोल्टेज तथा उक्त ब्याट्रीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी र व्यवस्थापन गर्छ । धेरै ब्याट्री उत्पादकहरूले प्रयोगकर्ताले ब्याट्रीसम्बन्धी जानकारी हेर्न सकून् भनेर स्मार्टफोन एप पनि उपलब्ध गराएका हुन्छन् । केही अवस्थामा यस्ता एपमार्फत प्रयोगकर्ताले प्रमाणीकरण (अथेन्टिकेसन) पछि ब्याट्रीका केही सेटिङ परिवर्तन गर्न सक्छन् । उदाहरणका लागि, ओभरभोल्टेज वा अत्यधिक तापक्रमबाट जोगाउन राखिएका सुरक्षा मापदण्डहरू परिमार्जन गर्न सकिन्छ, जसले ब्याट्रीको मर्मतसम्भार र समस्या समाधान (ट्रबलसुटिङ) गर्न सहज बनाउँछ ।
चिन्ताको विषय
केही ब्याट्री व्यवस्थापन प्रणालीमा पर्याप्त प्रमाणीकरण (अथेन्टिकेसन) नभएकाले यो चिन्ताको विषय बनेको छ । प्रमाणीकरण बलियो नहुँदा नजिकै रहेका अन्य प्रयोगकर्ताहरूले ब्लुटुथमार्फत सजिलै ब्याट्रीमा कनेक्ट गर्न र ब्याट्री नियन्त्रणमा पहुँच पाउन सक्छन्। यसको अर्थ, बिना कुनै चेतावनी वा पूर्वसूचना सवारी साधनको पावर (विद्युत) अचानक काटिन सक्ने र यात्राकै बीचमा सवारी साधन बीच बाटोमै ठप्प हुन सक्छ ।
सरकारले किन गर्यो हस्तक्षेप ?
एएनआईका अनुसार भारतका धेरै सहरमा ई-रिक्सा सार्वजनिक यातायातको महत्वपूर्ण माध्यम भएकाले यसको ब्याट्री सजिलै निष्क्रिय बनाउन सकिने कुनै पनि कमजोरी सार्वजनिक सुरक्षासँग जोडिएको गम्भीर विषय बन्न सक्छ । एएनआईले उद्धृत गरेका विवरणअनुसार यस विषयको अनुसन्धान भइरहेका बेला इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गुगल र एप्पललाई ती एपहरू आफ्ना एप स्टोरबाट हटाउन निर्देशन दिएको छ ।
के यसले सबै विद्युतीय सवारीसाधनलाई असर गर्छ ?
यो समस्या त्यस्ता ब्याट्री व्यवस्थापन प्रणालीमा मात्र देखिएको हो, जसमा प्रयोगकर्ताले ब्याट्रीका नियन्त्रणसम्बन्धी सेटिङ हेर्न र परिमार्जन गर्न सक्ने सुविधा उपलब्ध हुन्छ । यस्ता प्रणाली केही ई-रिक्सामा मात्रै प्रयोग गरिएको बताइएको छ । धेरैजसो विद्युतीय सवारीसाधनमा भने अझ बलियो सुरक्षा प्रणाली अपनाइएको हुने भएकाले यस समस्याबाट प्रभावित नहुने विश्वास गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८३ १४:४६
