असाेज मसान्तभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गराउनु पर्ने, अन्यथा निष्क्रिय हुनसक्ने*
असार ३२, २०८३ ८:५०
काठमाडौं । असाेज मसान्तभित्र पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गराउनु पर्ने भएको छ । बैंक खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै नियामक राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।
यसअघि बैंकहरूले १ माघ २०८१ देखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेका थिए । अब पुराना खाताहरूमा पनि यसलाई अनिवार्य गर्न लागिएको हो ।
यसका लागि नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेका सबै नेपाली नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी व्यवस्थालाई थप कडा बनाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै आगामी २०८३ असोज मसान्तभित्र आ-आफ्नो बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक (Update) गरिसक्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले निर्धारित अवधि पश्चात् राष्ट्रिय परिचयपत्र नम्बरसहित केवाईसी अपडेट नगराउने बैंक खाताहरू निष्क्रिय हुन सक्ने बताए । "यो भनेको पुरै बन्द हुने होइन," उनले भने, "सामान्यतया ग्राहकको ठेगाना, ईमेल, मोबाइल नम्बर जस्ता विवरणहरू परिवर्तन भइरहने हुँदा नियमित केवाईसी अपडेट गराउनुपर्ने हुन्छ । राष्ट्रिय परिचयपत्र नम्बर अपडेट नगराउने खाताको हकमा कसरी अगाडि बढ्ने भन्ने सवालमा पछि पनि केही थप स्पष्टता कायम गर्ने कुरा हुन सक्छ ।"
प्रवक्ता पौडेलका अनुसार हाल कूल ६ करोड २० लाखभन्दा बढी बैंक खाताहरू रहेका छन् । सेभिङ अकाउन्टको हकमा ३ वर्षसम्म र चल्ती खाताको हकमा १ वर्षसम्म कारोबार नगरेको खण्डमा त्यस्ता अकाउन्टलाई डोरम्याट गर्ने राष्ट्र बैंकको नियम छ । त्यस्ता खाताहरूको सङ्ख्या समेत १ करोड भन्दा बढी छ । डोरम्याट अकाउन्टहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा बैंकहरूले सम्बन्धित ग्राहकहरूसँगको सम्पर्क गरी त्यस्ता अकाउन्टहरू बन्द गराउन सक्ने पौडेलले बताए ।
२० वर्षभन्दा लामो समयदेखि निष्क्रिय भएका बैंक खाताहरूलाई भने बन्द गरी ती खातामा भएको रकम राष्ट्र बैंक अन्तर्गतको बैंकिङ विकास कोषमा पठाउने गरिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको पछिल्लो परिपत्र अनुसार अब ग्राहकहरूले बैंक नै नगई डिजिटल माध्यमबाटै सजिलै आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ । नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना खातावालाहरूसँग मोबाइल एप वा अन्य उपयुक्त डिजिटल माध्यमबाट राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा (Self-declaration) लिनुपर्नेछ ।
यसका साथै, राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकहरूको हकमा बैंकहरूले आगामी २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर लिएर विवरण अद्यावधिक गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।
अहिलेसम्म राष्ट्रिय परिचयपत्र लिन नसकेका नेपाली नागरिकहरूको हकमा भने खाता बन्द भइहाल्ने छैन । तर, बैंकहरूले त्यस्ता ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र लिएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्नका लागि मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६-६ महिनामा जानकारी गराउनु पर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा बस्ने नेपाली र अशक्तलाई विशेष छुट
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा केही विशेष परिस्थिति र क्षेत्रका नागरिकहरूलाई भने राष्ट्रिय परिचयपत्र बुझाउने नियममा विशेष सहुलियत दिएको छ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजात पेस गरेर खाता खोल्न सक्नेछन् । तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण बैंकमा बुझाई खाता अद्यावधिक गर्नुपर्नेछ ।
त्यस्तै आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, पूर्ण रूपमा अशक्त तथा असहाय नागरिकहरूको हकमा राष्ट्रिय परिचयपत्र बिना नै अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न र कारोबार गर्न सकिनेछ । यसका साथै १६ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा पनि यो नियम लागु हुनेछ । अर्थात् उनीहरूले राष्ट्रिय परिचयपत्र बिना नै बैंक खाता सञ्चालन गर्न सक्नेछन् ।
*यसअघि 'निष्क्रिय हुनसक्ने' हुनुपर्ने ठाउँमा 'बन्द हुने' शब्द पर्न गएकाले समाचार सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ । -स.
पछिल्लो अध्यावधिक: साउन २, २०८३ १३:३
