परम्परागत तरिका असफल भइरहेका बेलामा नेपाली अनुसन्धानकर्ताले ल्याए एआईबाट बाँदर भगाउने समाधान
साउन २, २०८३ १९:४४
काठमाडौं । बाँदर धपाउने परम्परागत तरिका असफल भइरहेको बेलामा नेपाली अनुसन्धानकर्ताको टोलीले एआईमा आधारित भएर बाँदर धपाउने समाधान अघि सारेका छन् । एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (एसीईएम) अन्तर्गतको सेन्टर फर एकेडेमिया-इन्डस्ट्री लिङ्केज एन्ड इन्टरनेसनल कोल्याबोरेसन (कैलिक) र विज्ञहरूको टोलीले उक्त समाधान ल्याएको हो ।
‘मङ्की कन्ट्रोल एन्ड ड्यामेज मिटिगेसन आर एन्ड डी प्रोजेक्ट’ नाम दिइएको यो परियोजनाले जमिन र आकाशमा गरी दुई किसिमबाट बाँदर धपाउने समाधान प्रस्तुत गरेको छ । परियोजनाका मुख्य योजनाकार एवम् कैलिकका संस्थापक डा. शङ्कर ढकालका अनुसार यस प्रणालीमा जडान गरिएका क्यामेरा र सेन्सरहरूले एआई र इमेज प्रोसेसिङको प्रयोग गरी बाँदर आएको तत्कालै पत्ता लगाउँछन् र फरक फरक प्रविधिको प्रयोग गरेर बाँदर धपाउँछन् ।
अनुसन्धानका क्रममा बाँदर निकै बौद्धिक हुने र उनीहरूलाई धपाउने शैलीसँग छिट्टै अभ्यस्त हुने पाइएको उनले जानकारी दिए । उनले बाँदरको स्वभावका बारेमा जानकारी दिँदै भने, “कुकुर भुकाउने, कुकुरलाई बाघ जस्तो बनाएर पेन्टिङ गर्ने वा कुनै एउटै आवाज प्रयोग गरेर भगायो भने सुरुमा त उनीहरू डराउँछन् । तर पछि उनीहरू त्यो खतरा होइन भन्ने कुरा छिट्टै बुझिहाल्छन् ।”
सोही समस्या समाधानका लागि यो परियोजनामा ‘रेन्डमाइजेसन एल्गोरिदम’ प्रयोग गरेर प्रविधि निर्माणको समाधान प्रस्तुत गरिएको छ । जसअनुसार यो प्रणालीले हरेक पटक नयाँ र फरक तरिकाले बाँदरलाई तर्साउनेछ । यसले गर्दा बाँदरहरूले सो क्षेत्रलाई आफ्नो लागि असुरक्षित ठानेर खेतबारीमा आउन छाड्ने विश्वास गरिएको छ ।
यस अनुसन्धान टोलीमा डा. शङ्कर ढकालसँगै डा. विनायक ओझा, रक्षा डङ्गोल, डा. बिपुन मान पति, खुमबहादुर कुँवर, प्रकाश ज्ञवाली, भरोषकुमार यादव, अनिल पोखरेल, आर्यन काफ्ले, सिलसिला पौडेल, अभिषेककुमार शाह, सोभित खत्री र रुपेश बानियाँ सक्रिय छन् । टोलीले परियोजनाका सम्बन्धमा सांसद र सरकारी सल्लाहकारहरूबाट पनि आवश्यक सुझाव लिएको छ ।
यो प्रविधिले कसरी गर्छ काम ?
यो प्रविधिअन्तर्गत सबैभन्दा पहिला क्यामेरा र सेन्सरहरूले बाँदरको झुन्ड आएको पहिचान गर्छन् र प्रजाति अनुसार खतराको स्तर पनि पत्ता लगाउँछन् । बाँदर पहिचान गर्ने बित्तिकै यो प्रविधिले अल्ट्रासोनिक फ्रिक्वेन्सीका आवाज निकाल्छ । मानिसले नसुन्ने तर बाँदरका लागि भने निकै झर्को लाग्दो हुने यो आवाज सुनेपछि बाँदर भाग्नेछन् ।
कुनै स्थानमा खतरा भएमा बाँदरले खतराको जानकारी दिन प्राकृतिक रूपमा विशेष आवाज निकाल्ने गर्छन् । एआईको माध्यमबाट त्यस्तै किसिमको कृत्रिम आवाज निकालेर बाँदरलाई बालीनाली लगाएको क्षेत्र उनीहरूका लागि खतरा भएको भान गराइन्छ । एउटै खालको आवाज निकालेमा बाँदर चनाखो हुनसक्ने भएकाले यो प्रविधिले हरेक पटक फरक आवाज निकाल्ने गरी विकास गरिन्छ ।
बाँदरको खतराको स्तर बढ्दै गयो भने स्वचालित रूपमा पानीको फोहोरा प्रहार गरिने विकल्प पनि यो प्रणालीमा राखिएको छ । खतराको स्तर बढेमा रबर बुलेट वा स्थानीय स्तरमा बनेका सामग्रीहरू प्रहार गरेर बाँदर धपाउने विकल्प राखिएको छ । यदि बाँदरको झुन्ड निकै ठुलो भएमा आकाशबाट ड्रोन प्रयोग गरेर भगाउन सकिने विकल्प अघि सारिएको डा. ढकालले जानकारी दिए ।
उनले भने, “बाँदर धपाउन एआई र उन्नत प्रविधिको प्रयोग गर्ने विकल्प अघि सार्दै गर्दा यसलाई सकेसम्म कम खर्चिलो बनाउने प्रयास हामीले गरिरहेका छौँ ।” कुनै स्थानलाई आफ्नो लागि खतरा भनेर बाँदरको हुलले पूर्ण रूपमा विश्वास गरेपछि उक्त ठाउँमा जान छाड्ने स्वभाव हुने गरेको उनले बताए । त्यसैले यो प्रविधिलाई सधैँ एकै स्थानमा राख्नुपर्ने बाध्यता हुँदैन । यसलाई आवश्यकता अनुसार स्थानान्तरण गरेर जुन जुन स्थानमा बाँदरले दु:ख दिएको छ त्यही जडान गर्न सकिन्छ ।
रबर बुलेटको स्थानमा स्थानीय उत्पादित सामग्रीको प्रयोग, सिँचाई भएका स्थानबाट नै पानीको फोहोरा निर्माण लगायतका विकल्प अघि सारिएको हो । यस्तै, महँगा बालीको संरक्षण गर्नुपरेमा मात्र ड्रोनको प्रयोग गर्न सकिने बताइएको छ । यस्ता ड्रोनलाई सामान ढुवानी गर्न, बीउ छर्न वा माटो परीक्षण गर्न पनि प्रयोग गर्न सकिन्छ ।
बाँदरलाई बस्तीमा पसेर दु:ख दिनबाट रोक्नलाई खेत र जङ्गलको बिचमा बफर जोन बनाएर त्यहाँ बाँदरलाई मनपर्ने फलफूल सहितको वातावरण बनाएर जङ्गलमा नै बाँदर रोक्ने दीर्घकालीन समाधान पनि परियोजनामा प्रस्तुत गरिएको छ ।

ओपन पेटेन्टका रूपमा प्रविधि उपलब्ध गराउने लक्ष्य
हाल अनुसन्धान र विकासको चरणमा रहेको यो परियोजनाका केही नमुना निर्माण भइसकेका छन् । अल्ट्रासोनिक आवाज र प्राकृतिक खतराको कृत्रिम सङ्केत उत्पन्न गर्ने प्रविधिको सफल परीक्षण भइसकेको हो ।
टोलीले नेपाल सरकारद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व कार्यदल र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसमक्ष आफ्नो योजना प्रस्तुत समेत प्रस्तुत गरेको छ । सरकारले आवश्यक बजेट र सहयोग उपलब्ध गराएमा आगामी केही महिनाभित्रै पूर्ण स्तरको प्रोटोटाइप तयार गरी खेतबारीमा यसको पाइलटिङ गर्ने टोलीको लक्ष्य छ ।
स्थानीय सरकारले बाँदर धपाउन मानिस परिचालन गर्न छुट्याउने बजेटबाटै यो प्रविधिलाई प्रयोगमा ल्याउन सकिने अनुसन्धानकर्ताहरूको सुझाव छ । टोलीले यस नवीन प्रविधिलाई पेटेन्ट प्रक्रियामा लैजाने तर यसलाई ‘ओपन पेटेन्ट’ का रूपमा सार्वजनिक हितका लागि खुला राख्ने उद्देश्य लिएको छ । उक्त अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशन गर्ने योजना बनाइएको छ ।

बाँदरका धारण किसानहरू निकै पीडित भएकाले नाफामुखी भन्दा पनि समाजका हितका लागि यो अनुसन्धानको परियोजनालाई प्रयोग गरिने योजना उनीहरूको छ । नेपालमा सफल भएपछि यस प्रविधिलाई भविष्यमा भारत, चीन वा बङ्गलादेश जस्ता देशमा निर्यात गरेर राज्यले नाफा पनि गर्न सकिने सम्भावना रहेको बताइएको छ ।
तर, सरकारको साथ नमिलेपनि यो परियोजनालाई भने निरन्तरता दिने उनीहरूको योजना छ । डा. ढकालले भने, “हामी सरकारको सहयोग नभएको अवस्थामा पनि यो परियोजनालाई पूरा गर्छौँ । तर, सरकारले सहयोग गरेमा वन्यजन्तुबाट हैरानी भोगिरहेका किसानलाई सहज रूपमा नै यो प्रविधि पाउन सहज हुने थियो ।”
बाँदरबाहेक दुम्सी हात्ती जस्ता जीवजन्तुलाई भगाउन र औद्योगिक क्षेत्रको संरक्षणमा समेत यो प्रविधि प्रयोग गर्न सकिने उनले बताए ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ १९:५१
