११औँ संस्करणको ‘आईसीटी अवार्ड २०२६’ का लागि नोमिनेसन खुला, १६ विधामा आवेदन दिन सकिने
साउन २, २०८३ २२:८
काठमाडौं । आईसीटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन आवेदन खुला गरिएको छ । लिभिङ विथ आईसीटीको आयोजनामा सन् २०१६ देखि हरेक वर्ष साउन १ गतेदेखि आवेदन खुला गर्ने परम्पराअनुसार यस वर्ष पनि साउन १ गतेदेखि नै नोमिनेसन सुरु गरिएको हो ।
आगामी पुसको पहिलो साता आयोजना हुने ‘ग्रान्ड फिनाले’ अघि करिब ६ महिनासम्म विभिन्न चरणका कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस वर्षको अवार्डमा कुल १६ विधा समावेश गरिएका छन्, जसलाई मुख्य चारवटा विधागत समूहमा विभाजन गरिएको छ ।
पहिलो समूह ‘ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसँग सम्बन्धित विधाहरू रहेका छन् । यसमा पाँच वर्षसम्मका स्टार्टअपहरूका लागि ‘स्टार्टअप आईसीटी अवार्ड’, पछिल्ला दुई वर्षभित्र विकास भएका डिजिटल उत्पादनका लागि ‘प्रडक्ट आईसीटी अवार्ड’, २७ वर्ष मुनिका विद्यार्थी तथा युवाका नवप्रवर्तनका लागि ‘राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड’ र प्रविधिमार्फत सामाजिक चुनौती समाधान गर्ने प्रयासका लागि ‘सोसियल इनोभेसन आईसीटी अवार्ड’ रहेका छन् । यी विधाहरूमा प्रतिस्पर्धी स्वयंले आवेदन दिनुपर्ने व्यवस्था छ ।
दोस्रो समूह 'बी' अन्तर्गत सूचना प्रविधि क्षेत्रमा पुर्याएको व्यक्तिगत योगदानको आधारमा सम्मान प्रदान गरिनेछ । यसमा २० वर्षभन्दा बढी अनुभव भएका अग्रजका लागि ‘पायोनियर आईसीटी अवार्ड’, ५ वर्षको व्यावसायिक अनुभव भएकाहरूका लागि ‘प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड’ (महिला र पुरुषका लागि छुट्टाछुट्टै), १० वर्षको अनुभव भएका उद्यमीका लागि ‘आन्टरप्रेनर आईसीटी अवार्ड’ र विदेशमा बसेर नेपालको डिजिटल इकोसिस्टममा योगदान दिनेका लागि ‘नेपाली डायस्पोरा आईसीटी अवार्ड’ रहेका छन् । यी विधाहरूमा सम्बन्धित व्यक्ति वा अन्य कसैले पनि सिफारिसका आधारमा नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
तेस्रो समूह ‘सी’ ले संस्थागत र डिजिटल रूपान्तरणका प्रयासहरूलाई समेटेको छ । यसअन्तर्गत सरकारी निकायका लागि ‘डिजिटल गभर्नेन्स आईसीटी अवार्ड’, सार्वजनिक र निजी शैक्षिक संस्थाहरूका लागि ‘डिजिटल एजुकेसन आईसीटी अवार्ड’ र कर्पोरेट तथा उदीयमान क्षेत्रका लागि ‘डिजिटल सर्भिसेस आईसीटी अवार्ड’ का विधाहरू रहेका छन् ।
चौथो समूह ‘डी’ अन्तर्गत भने अन्तर्राष्ट्रिय स्तरका दुई विधाहरू ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड’ र यसै वर्षदेखि थपिएको ‘एआई इनोभेसन साउथ एसिया आईसीटी अवार्ड’ रहेका छन् । यी अन्तर्राष्ट्रिय विधाहरूमा नेपालसहित दक्षिण एसियाका आठवटा देशका स्टार्टअप र एआई कम्पनीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार, अवार्डको प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन नेपाल र विदेशका २० जना विज्ञ जुरी सदस्य र १५ जना सल्लाहकारहरूको समिति गठन गरिनेछ ।
आवेदन परेपछि करिब ६ महिनाको अवधिमा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायतका दर्जनौँ प्रि-इभेन्टहरू आयोजना हुनेछन् । साथै, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकोग्निसन २०२६’ बाट सम्मान समेत गरिने लम्सालले जानकारी दिए ।
अवार्डमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आगामी भदौ १५ गतेसम्म अवार्डको आधिकारिक वेबसाइट www.ictaward.org मार्फत नि:शुल्क आवेदन दिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ २२:९
