close

कलेज पढ्दै साइबर सुरक्षा सिक्ने अवसर: बगभीले सुरु गर्‍यो ‘स्टुडेन्ट एम्बेसडर प्रोग्राम’

टेकपाना टेकपाना

साउन ३, २०८३ ७:२७

कलेज पढ्दै साइबर सुरक्षा सिक्ने अवसर: बगभीले सुरु गर्‍यो ‘स्टुडेन्ट एम्बेसडर प्रोग्राम’

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी ‘बगभी’ले कलेज र विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि एक वर्षको ‘बगभी स्टुडेन्ट एम्बेसडर प्रोग्राम’ सुरु गरेको छ । आजको डिजिटल युगमा साइबर सुरक्षा निकै महत्त्वपूर्ण भएकाले विद्यार्थीलाई यसबारे सचेत गराउन र उनीहरूमा नेतृत्व क्षमता बढाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो कार्यक्रम केवल प्रचारप्रसारमा मात्र सीमित नभएर विद्यार्थीको सिकाइ, नेतृत्व र साइबर सुरक्षाको सचेतनामा केन्द्रित हुनेछ । “एक वर्षसम्म चल्ने यस कार्यक्रममा नेपालभरका विभिन्न कलेजका विद्यार्थीलाई सहभागी गराउनेछौं,” कम्पनीले भनेको छ, “हाम्रो उद्देश्य भनेकै कलेजमा पढ्ने विद्यार्थी र प्रविधि क्षेत्रका विज्ञलाई एकै ठाउँमा ल्याउने हो । यसमा सहभागी विद्यार्थीले साइबर सुरक्षाका बारेमा व्यवहारिक विषय सिक्न, विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुन र नयाँ मानिससँग सम्पर्क बढाउन पाउनेछन् ।”

कार्यक्रमका लागि छानिएका विद्यार्थी (एम्बेसडर) ले आ-आफ्नो कलेज र समुदायमा साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउने छन् । उनीहरूले इन्टरनेट कसरी सुरक्षित रूपमा चलाउने भन्नेबारे जानकारी दिने र विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्नेछन् ।

यस कार्यक्रमबाट विद्यार्थीले साइबर सुरक्षाका विज्ञबाट प्रत्यक्ष सिक्ने र सल्लाह पाउने मौका पाउनेछन् । कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि उनीहरूले प्रमाणपत्र पाउनेछन् भने राम्रो काम गर्ने विद्यार्थीलाई थप प्रोत्साहन र सम्मान दिइने कम्पनीको भनाइ छ ।

नेपालका जुनसुकै कलेज वा विश्वविद्यालयमा पढ्ने विद्यार्थीले यसका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि पहिले नै साइबर सुरक्षासम्बन्धी धेरै ज्ञान हुनु आवश्यक छैन । तर, विद्यार्थीमा केवल प्रविधिमा रुचि र नयाँ कुरा सिक्ने इच्छा भए पुग्ने कम्पनीले जनाएको छ ।

यस कार्यक्रमको पहिलो समूहका लागि अहिले आवेदन खुला भइसकेको छ । बगभी ‘साइबर सुरक्षा’ क्षेत्रमा सक्रिय नेपाली कम्पनी हो जसले विभिन्न संघसंस्थाको डिजिटल सुरक्षा बलियो बनाउन मद्दत गर्नुका साथै विद्यार्थी र समुदायमा साइबर सुरक्षाबारे जनचेतना फैलाउने काम गर्दै आएको छ ।

आवेदन दिनका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । इच्छुक विद्यार्थीले १२ अगस्टभित्र आवदेन दिइसक्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ ७:३३