सर्भर डाउन भएपछि इटहरी यातायातमा लफडा, कर्मचारीमाथि हातपातको प्रयास, सुरक्षाकर्मी परिचालन
असार २९, २०८३ १५:२८
काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा देखिएको प्राविधिक समस्याका कारण यातायात व्यवस्था कार्यालय इटहरीमा सोमबार तनावपूर्ण स्थिति सिर्जना भएको छ । शुक्रबारदेखि सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा ठप्प भएपछि आक्रोशित बनेका सेवाग्राहीले कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
कार्यालयका सूचना अधिकारी सुवास कार्कीका अनुसार शुक्रबार सर्भरमा समस्या देखिएपछि सोमबारदेखि बिहीबारसम्मको समय दिएर सेवा लिन आउन सूचना जारी गरिएको थियो । सोही सूचनाका आधारमा सोमबार बिहानैदेखि सेवाग्राहीको ठुलो भीड लागेको थियो ।
“बिहान करिब ५-१० मिनेट मात्र सुस्त गतिमा चलेर सर्भर पूर्ण रूपमा बन्द भयो,” कार्कीले टेकपानासँग भने, “विभागसँग समन्वय गरी अर्को सूचना निकाल्ने तयारी गर्दै गर्दा सेवाग्राहीहरू अचानक आक्रोशित हुनुभयो ।”
भीड नियन्त्रणबाहिर गई कर्मचारीमाथि नै हातपात र कार्यालयमा तोडफोड हुन सक्ने अवस्था देखिएपछि सुरक्षाकर्मी बोलाइएको थियो । प्रहरीको हस्तक्षेपपछि स्थिति सामान्य बनेको र कार्यालयमा कुनै भौतिक क्षति नभएको कार्कीले स्पष्ट पारे । उनले केन्द्रीय सर्भरकै समस्याका कारण सेवा प्रवाह गर्न नसकिएको भए पनि सेवाग्राहीले त्यसलाई बुझ्न नसक्दा तनाव उत्पन्न भएको बताए ।
व्यवस्थापनमा कमजोरी रहेको सेवाग्राहीको गुनासो
सोमबार सेवा लिन पुगेका दिपर्शन दाहालले सर्भरको समस्या केन्द्रीय विभागको भए पनि इटहरी कार्यालयको आन्तरिक व्यवस्थापन र नियमित सेवा प्रवाहमा थुप्रै कमजोरी रहेको गुनासो गरे । उनले वर्षाको समयमा कार्यालय परिसर हिलाम्मे हुने गरेको तर त्यसलाई व्यवस्थित गर्न कार्यालयले चासो नदिएको बताए ।
दाहालका अनुसार कार्यालयका सूचनाहरू वेबसाइटमा अपडेट नहुने, आधिकारिक फेसबुक पेज नभेटिने र सामान्य जानकारीका लागि पनि कार्यालयमै धाउनुपर्ने बाध्यता छ । “दस्तुर तिर्न अनलाइन माध्यम छैन, नागरिक वडापत्र स्पष्ट नहुँदा कुन फाँटमा जाने भन्ने अलमल हुन्छ,” उनले भने ।
यस्तै, घरैबाट कर गणना गर्ने ‘ट्याक्स क्यालकुलेटर’ को व्यवस्था गर्न आग्रह गर्दा कार्यालय प्रमुखबाट सकारात्मक जवाफ नपाइएको उनको आरोप छ । प्रणालीमा आबद्धता (इन्टिग्रेसन) को अभावले गर्दा साना कामका लागि पनि तोकिएकै कार्यालय पुग्नुपर्ने र लाइसेन्स वितरण अत्यन्तै सुस्त रहेको दाहालले बताए । “चार दिनदेखि सेवा नै नपाएपछि मर्कामा परेका सेवाग्राही थप आक्रोशित भएका हुन्,” उनले थपे ।
हाल कार्यालयको माहोल शान्त रहेको र सर्भर सुचारु हुने प्रतीक्षा भइरहेको कार्यालय प्रशासनले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ १७:८
