डिजाइनमा अवार्ड जितेको दीपल निभो क्यू-०५ ईभी नेपाल आउँदै, १५ मिनेटमै ८० प्रतिशत चार्ज हुने !
साउन ९, २०८३ ९:१४
काठमाडौं । नयाँ इलेक्ट्रिक एसयूभी दीपल निभो क्यु०५ नेपाली बजारमा आउने निश्चित भएको छ । नेपालका लागि दीपल ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले यो ईभी सार्वजनिक गर्ने तयारी थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाइरहेको यो ईभीले अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ ।
प्रसिद्ध अटोमोटिभ डिजाइनर क्लाउस जाइसिओराको नेतृत्वमा तयार पारिएको गाडीको डिजाइनले आधुनिक र आत्मविश्वासी एसयूभीको झल्को दिन्छ । यसमा दिइएको विशिष्ट लाइटिङ सिग्नेचर र आकर्षक रोज प्रेजेन्सले सडकमा यसको उपस्थिति निकै प्रभावशाली बनाउँछ ।
थाइल्यान्डमा उपलब्ध यो ईभीको विवरणलाई आधार मान्दा निभो क्यू-०५ मा ५१.९ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (LFP) ब्याट्री रहेको छ । यसले एक पटकको फुल चार्जमा ४६२ किलोमिटर (एनईडीसी) सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यसको इलेक्ट्रिक मोटरले अधिकतम १६३ पीएस (१२० किलोवाट) पावर र १९० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभीले मात्र ८.२ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घन्टाको गति समात्न सक्ने बताइएको छ ।
चार्जिङको सवालमा यो गाडी निकै अगाडि देखिएको छ । यसमा रहेको १६२ किलोवाटसम्मको अधिकतम डीसी फास्ट चार्जिङ क्षमताले गर्दा ३० देखि ८० प्रतिशतसम्म मात्र १५ मिनेटमा चार्ज गर्न सकिन्छ । यसका साथै, यसमा विश्वप्रसिद्ध सीएटिएलको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षा र टिकाउपनको ग्यारेन्टी गर्छ ।
यसमा भेहिकल टु लोड (V2L) फिचर पनि उपलब्ध छ, जसबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । निभो क्यू-०५ को अर्को बलियो पक्ष यसको इन्टेरियर हो । २७३५ एमएमको लामो ह्विलबेसका कारण गाडीभित्र पर्याप्त स्पेस उपलब्ध छ । भित्र पस्दा यसले एउटा ठुलो एसयूभीको जस्तै अनुभव दिने कम्पनीले जनाएको छ ।
गाडीको ड्याशबोर्डमा १४.६ इन्चको ठुलो टचस्क्रिन र १०.१७ इन्चको डिजिटल क्लस्टर दिइएको छ । चालकको सहजताका लागि इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा र उच्च गुणस्तरका ८ वटा स्पिकरहरू रहेका छन् ।
सुरक्षाका लागि यसमा इन्टिग्रेटेड एडाप्टिभ क्रुज कन्ट्रोल (IACC), अटोमेटिक इमर्जेन्सी ब्रेकिङ (AEB), लेन किपिङ असिस्ट (LKA) र ब्लाइन्ड स्पट डिटेक्सन (BSD) जस्ता अत्याधुनिक एडीएस (ADAS) सुविधाहरू रहेका छन् । यसको सफल परीक्षण चीनको कठिन मौसम र बरफको सतहमा समेत गरिसकिएको छ ।
बजार र मूल्यको अपेक्षा
चीनमा यो वर्षको जुन महिनासम्म ७६ हजारभन्दा बढी थान बिक्री भइसकेको यो मोडेल आफ्नो सेग्मेन्टको लिडर बन्न सफल भएको दाबी गरिएको छ । नेपालमा यसको आधिकारिक लन्च नजिकिएसँगै यसको मूल्य र आधिकारिक स्पेसिफिकेसन सार्वजनिक हुनेछन् ।
यद्यपि, नेपाली सडक सुहाउँदो १७० एमएमको ग्राउन्ड क्लियरेन्स र प्रिमियम फिचर्सका कारण यसले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको विश्वास छ ।
थप जानकारी र आधिकारिक लन्चको मिति एमएडब्लू वृद्धिले चाँडै घोषणा गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८३ ९:२३
