सर्भर डाउन हुँदा अधिकांश यातायात कार्यालयमा लाइसेन्स सेवा ठप्प, सेवाग्राहीलाई सास्ती
असार २९, २०८३ १४:१३
काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आउँदा देशभरका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा ठप्प भएका छन् । गत शुक्रबारदेखि सवारी चालक अनुमतिपत्रका लागि नयाँ आवेदन दिने, बायोमेट्रिक्स दिने, राजस्व बुझाउने र वर्ग थप गर्ने लगायतका काम प्रवाह हुने प्रणाली (EDLVRS) अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएपछि देशभरका यातायात कार्यालयहरूले सूचना टाँस्दै सेवाग्राहीलाई फर्काइरहेका छन् भने सर्भर कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने स्पष्ट जानकारी दिइएको छैन ।
ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयले विभागको सर्भरमा आएको खराबीका कारण लाइसेन्स वितरणबाहेकका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।
त्यस्तै, यातायात व्यवस्था कार्यालय चितवनले पनि ‘EDLVRS’ सर्भरमा प्राविधिक समस्या आएकाले अर्को व्यवस्था नभएसम्मका लागि लाइसेन्ससम्बन्धी सम्पूर्ण सेवा स्थगित रहने जनाएको छ ।
भक्तपुर कार्यालयले विभागबाट प्रणाली सुधारको कार्य भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै हाललाई लाइसेन्स वितरण र प्रयोगात्मक परीक्षा बाहेकका नयाँ दर्ता, वर्ग थप, नवीकरण र राजस्व भुक्तानी लगायतका काम स्थगित गरिएको जनाएको छ ।
कलङ्की कार्यालयले पनि प्रयोगात्मक परीक्षा र लाइसेन्स वितरण बाहेकका अन्य सेवा रोकेको छ र २९ असार २०८३ मा नयाँ तथा वर्ग थपको ‘भिजिट डेट’ पाएकालाई सेवा सुचारु भएको १५ दिनभित्र बायोमेट्रिक गराउन आउन अनुरोध गर्दै थप सूचना वेबसाइट र फेसबुक पेजबाट दिइने बताएको छ ।

यस विषयमा यातायात कार्यालय राधेराधेका सूचना अधिकारी जीवनकुमार बस्नेतले सर्भर नचलेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको बताए । उनले भने, “बिहान ९:०० बजेदेखि नियमित रूपमा सेवा प्रवाह भइरहेकोमा सर्भर डिस्टर्ब भएपछि पुराना र नयाँ सेवाग्राही थपिएर चाप बढेको हो । बढी ट्राफिक भएर सर्भर डाउन भएको त नहोला कि !”

उनले अगाडि भने, “सर्भर डिस्टर्ब भएपछि लाइसेन्स वितरणबाहेक बायोमेट्रिक दिने, नवीकरण गर्ने, राजस्व काट्ने लगायतका सम्पूर्ण काम ठप्प भएका छन्, तर सवारी दर्ता र करसम्बन्धी सर्भर चलिरहेको छ ।”
यद्यपि असार मसान्तभित्रै राजस्व बुझाइहाल्नुपर्ने त्यस्तो सेवा नभएकाले सर्भरमा अरु केही कारणले समस्या आएको हुनसक्ने उनले सुनाए ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । एक्समा ‘नवयुवा’ नामको अकाउन्टबाट भरतपुर यातायात कार्यालयको सेवाप्रति गुनासो गर्दै लेखिएको छ, “भरतपुर यातायात कार्यालयको अवस्था अत्यन्त दयनीय छ । लाइसेन्स अपोइन्टमेन्टका लागि ५०० रुपैयाँ तिरियो, मिति पनि सकियो, तर नयाँ मिति दिइँदैन । कर्मचारी सधैं ‘सिस्टम/सर्भर डाउन छ’ भन्दै बहाना बनाउँछन् । न सूचना, न समाधान जनतालाई मात्र दुःख र सास्ती ।”
सामाजिक सञ्जालमा आक्रोश पोख्दै विष्णु आचार्य लेख्छन्, “नवीकरणको म्याद एक दिन मात्र नाघे पनि दोब्बर जरिवाना लाग्छ । तर, यदि प्रणाली (सिस्टम) नचलेका कारण ढिलाइ भएको हो भने त्यसको क्षतिपूर्ति सरकारले बेहोर्नुपर्छ ।”
त्यस्तै वसन्तकुमार थापा लेख्छन्, “सरकारको नीति वा मनसाय सकारात्मक भए तापनि सेवा प्रवाह गर्ने तल्लो तहमा जवाफदेहिताको कमी, प्रशासनिक ढिलासुस्ती र कमजोर अनुगमनका कारण सेवाग्राहीले दुःख पाउने र सरकारको छविमा असर पर्ने गरेको देखिन्छ । भिडभाड हुने कार्यालयहरूमा सरकारी सर्भर डाउन हुनु वा ढिलो चल्नु एउटा गम्भीर समस्या हो। प्रविधिको स्तरोन्नति र पर्याप्त क्षमता अभिवृद्धि हुन नसक्दा सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन ।”
यता यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले भने देशभरि नै सर्भर ठप्प भएको नभई केही कार्यालयमा अत्यधिक लोडका कारण समस्या देखिएको दाबी गरे ।
उनले टेकपानासँग भने, “समस्या सबैमा होइन, यहाँ केही कार्यालयमा लोड धेरै भएको कारणले चलिरहेको छैन । केही कार्यालयमा हामी लोड मिलाउँदै छौँ ।”
आर्थिक वर्षको अन्त्यमा क्लोजिङका लागि धेरै सेवाग्राही एकैपटक प्रणालीमा जाँदा सिस्टम लोड बढी भएको उनको भनाइ छ । उनले थपे, “सबैजना एकैचोटि आएपछि सिस्टममा मिलाउनुपर्ने भयो । हामीले केही कार्यालयलाई चलाउन दिएका छौँ भने केही कार्यालयको प्रणाली मिलाउँदै छौँ, बेलुकासम्म थप अपडेट बुझ्न सकिन्छ ।” यद्यपि शुक्रबारदेखि नै सेवा अवरुद्ध भइरहेको बारेमा उनले विस्तृतमा बताएनन् ।
यातायात कार्यालयको सर्भर डाउन हुने समस्या नेपालमा नौलो होइन । यसअघिका सरकारको पालामा पनि पटक-पटक सर्भर डाउन हुँदा सेवाग्राहीले दुःख पाउने गरेका थिए । वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पालोमा पनि त्यही समस्या दोहोरिएको छ । यसबारे पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता र सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।
शुक्रबारदेखि देखिएको समस्याका कारण यातायात कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । विभागले असार मसान्तमा स्वभाविक रूपमा राजस्व तिर्नेको भिडका कारण सर्भरमा चाप बढेको दाबी गरे पनि यातायात कार्यालयका अनुसार तोकिएको दिनमा अनिवार्य रूपमा राजस्व तिर्नुपर्ने वा बायोमेट्रिक दिनुपर्ने बाहेक अन्य सेवाग्राहीलाई असारभित्रै काम सकिहाल्नुपर्ने कुनै बाध्यता थिएन ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ १४:२८
