close

बैंकिङ एपबाट क्यूआर स्क्यान गर्दा रकम आउँदैन, उल्टै जान्छ ! यत्ति नबुझ्दा लाखौं गुमाउँदैछन् नेपाली

टेकपाना टेकपाना

साउन ९, २०८३ १९:५१

बैंकिङ एपबाट क्यूआर स्क्यान गर्दा रकम आउँदैन, उल्टै जान्छ ! यत्ति नबुझ्दा लाखौं गुमाउँदैछन् नेपाली

काठमाडौं । गत चैत महिनामा काठमाडौंमा बस्दै आएकी १९ वर्षीय रिमा तामाङ (नाम परिवर्तन) ले टिकटक चलाउने क्रममा एउटा आकर्षक दराजको भिडिओ देखिन् । बजारमा कम्तीमा २० हजार रुपैयाँ पर्ने जस्तो देखिने उक्त दराजको मूल्य त्यहाँ जम्मा चार हजार रुपैयाँ मात्र उल्लेख गरिएको थियो । १५ हजारभन्दा बढी फलोअर र लाखौँ भ्युज भएको उक्त अकाउन्टको विज्ञापनमा विश्वास गर्दै रिमा सजिलै आकर्षित भइन् र त्यहाँ दिइएको नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गरिन् ।

सम्पर्कपछि अकाउन्ट सञ्चालकले सामान ठुलो भएकाले डेलिभरी शुल्क पहिले नै तिर्नुपर्ने सर्त राखे । दराज निकै सस्तो र राम्रो भएकाले रिमाले उक्त प्रस्ताव सहजै स्वीकार गरिन्, किनकि डेलिभरी शुल्क मात्र १५० रुपैयाँ थियो।

उनले भुक्तानीका लागि क्यूआर कोड मागिन् । सञ्चालकले ह्वाट्सएपमा एउटा व्यक्तिगत बैंकको क्यूआर कोड पठाए । रिमाले उक्त क्यूआर स्क्यान गरी १५० रुपैयाँ पठाउँदा थप १० रुपैयाँ सेवा शुल्कसहित उनको खाताबाट कुल १६० रुपैयाँ काटियो ।

तर, त्यसपछिका दुई दिनसम्म सामान डेलिभरीको कुनै अपडेट आएन । रिमाले सामानको अवस्थाबारे बुझ्न खोज्दा ती व्यक्तिले रकम नै प्राप्त नभएको र होल्ड भएको जस्तो देखिएको बताए । उनले रिमालाई विश्वास दिलाउन भने, “पैसा होल्ड भएको जस्तो छ । एक पटक तपाईंको बैंक स्टेटमेन्ट पठाउनुस् न ।”

रिमाले आफ्नो मोबाइल बैंकिङ एप खोलेर स्टेटमेन्टको स्क्रिनशट पठाइन् । उनले पठाएको त्यही स्क्रिनशट नै उनको खातामा रहेको ८० हजार रुपैयाँ गुम्ने माध्यम बन्न पुग्यो ।

स्क्रिनशट पाउनेबित्तिकै ती व्यक्तिले रिमालाई ह्वाट्सएपमा अडियो कल गरे । रकम अड्किएको र त्यसलाई फिर्ता गराउने बहानामा उनले रिमालाई आफ्नो निर्देशन पालना गर्न लगाए । स्क्यामरले सबैभन्दा पहिले एउटा क्यूआर कोड पठाए, जसमा बैंकको नाम वा अन्य कुनै विवरण थिएन, केवल क्यूआर कोड मात्र थियो ।

कलकै क्रममा ती व्यक्तिले रिमालाई रिमार्क्स (Remarks) मा एउटा टेक्स्ट टाइप गर्न लगाए । त्यो टेक्स्ट थियो: “Pleasereleasemypaid7000-00080187.03”। रिमाले उक्त टेक्स्ट टाइप गरिन् । त्यसपछि स्क्यामरले पछाडिको कोड ‘00080187.03’ लाई कपी गरेर अमाउन्ट (रकम) लेख्ने ठाउँमा पेस्ट गर्न लगाए र अन्तिममा प्राप्त भएको पिन कोड राख्न भने ।

कलमा भनिए अनुसार नै गर्दा रिमाको खाताबाट ८० हजार १८७ रुपैयाँ काटिएको मेसेज आयो । आफू ठगिएको थाहा पाएपछि उनले तत्कालै प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्, तर हालसम्म पनि उनको रकम फिर्ता हुन सकेको छैन । (पूरा कथा र प्रमाण)

भक्तपुरकी सम्झना क्षेत्री (नाम परिवर्तन) ले पनि यस्तै प्रकृतिको ठगीको सामना गर्नुपर्‍यो । उनले चर्चित हेलमेट ब्रान्ड ‘स्टिलबर्ड’ को नाम कपी गरेर खोलिएको एउटा नक्कली टिकटक अकाउन्टमा दुई हजार रुपैयाँमा आकर्षक हेलमेट देखिन् । उनले उक्त हेलमेटको भिडिओ डाउनलोड गरी अकाउन्टमा दिइएको ह्वाट्सएप नम्बरमा पठाइन् र कुराकानी अघि बढाइन् ।

यो घटनामा पनि विक्रेताले सुरुमा डेलिभरी शुल्क माग गरे । रकम पठाइसकेपछि उनलाई केही दिनसम्म झुलाइयो । अन्तिममा, रकम होल्ड भएको बहाना बनाउँदै रकम फिर्ता गरिदिने आश्वासनसहित अडियो कल गरियो । सम्झना पढेलेखेकी युवती भए तापनि स्क्यामरको कुराकानीको शैलीमा उनी अलमलिइन् ।

स्क्यामरले पठाएको क्यूआर कोड स्क्यान गर्न लगाई रिमार्क्समा एउटा कोड ‘०१६३७८.५३’ (016378.53) राख्न भनियो र त्यही कोड अमाउन्टमा पनि राख्न निर्देशन दिइयो । सम्झनाले त्यसै गर्दा उनको खाताबाट १६ हजार ३७८ रुपैयाँ काटियो । स्क्यामरले चलाखीपूर्वक क्यूआर कोड र कोड नम्बरको प्रयोग गरी रकम आफ्नो खातामा ट्रान्सफर गराउन सफल भयो । (पूरा घटना र प्रमाण)

सचेत रहँदा-रहँदै ठगिए चिकित्सक

यस प्रकारको डिजिटल ठगीको पासोमा एक जना चिकित्सक (डाक्टर) समेत परेका छन् । यो पनि गत चैत महिनाकै घटना हो । यी डाक्टर बैंकिङ सुरक्षाका विषयमा केही हदसम्म सचेत थिए । स्टेटमेन्टको स्क्रिनशट पठाउँदा खातामा रहेको मौज्दात रकम देखिने र त्यसले गोपनीयता भंग हुने कुरा उनलाई थाहा थियो । त्यसैले, फर्निचर किन्न खोज्दा उनले स्क्यामरलाई पठाएको स्टेटमेन्टमा आफ्नो खातामा रहेको रकमको भाग ब्लर गरिदिएका थिए ।

तर, स्क्यामरले उनलाई पनि उही पुरानो शैली अपनायो । पहिले डेलिभरी शुल्क मागियो र पछि रकम होल्ड भएको बहाना बनाइयो । स्टेटमेन्ट पठाउन लगाएर क्यूआर कोड स्क्यान गर्न निर्देशन दिइयो ।

स्क्यामरले डाक्टरलाई रिमार्क्समा “Return my all blc 248000 00297984.99” टाइप गर्न लगायो र अन्तिमको कोड ‘00297984.99’ लाई अमाउन्टको ठाउँमा राख्न भन्यो। यसरी रकम राखेर पिन कोड राखेपछि डाक्टरको खाताबाट दुई लाख ९७ हजार ९८४ रुपैयाँ काटियो । रकम काटिएपछि मात्र उनी ठगीमा परेको खुलासा भयो । (पूरा घटना र प्रमाण)

यी प्रतिनिधि घटना मात्र हुन् । यसरी टिकटकबाट आकर्षक सामान सस्तोमा किन्न खोज्दा हजारौं उपभोक्ता ठगिन पुगेका छन्  । यी तीनवटै घटनाको प्रकृति हेर्दा स्क्यामरले उपभोक्ताको मनोविज्ञान र प्रविधिको सीमित ज्ञानको फाइदा उठाइरहेको देखिन्छ । सस्तो सामानको लोभ देखाउने, डेलिभरी चार्ज पहिले नै माग्ने, र पछि प्राविधिक समस्या देखाएर बैंकिङ स्टेटमेन्ट माग्ने काम यस्ता ठगीका मुख्य लक्षण हुन् ।

एउटा सामान्य तर महत्त्वपूर्ण प्राविधिक सीमितता नबुझ्दा नेपाली ठगिरहेको देखिन्छ । त्यो हो क्यूआर कोड स्क्यान । मोबाइल बैंकिङ तथा डिजिटल वालेट एपमा रहेको क्यूआर कोड स्क्यान गर्ने फिचर प्रयोग गर्दा कहिल्यै पनि खातामा रकम आउँदैन । त्यो फिचर केबल अरूको क्यूआर कोड स्क्यान गर्ने र आफ्नो खातामा भएको रकम पठाउन मात्र प्रयोग हुन्छ । क्यूआर स्क्यान गर्ने भनेपछि आफ्नो खाताबाट रकम काटिन्छ भन्ने बुझ्नुपर्छ । 

त्यस्तै यस्ता टिकटक अकाउन्टको भिडिओ प्रायः अरूको वास्तविक अकाउन्टबाट कपी गरिएका भिडिओ हुन्छन् । टिकटक अकाउन्टमै ह्वाट्सएप नम्बर र नेपालभर डेलिभरी हुन्छ भन्दा उपभोक्ता थप विश्वासमा पर्छन् । यसरी नेपालभर डेलिभर हुन्छ भनिएको छ भने उसको भौतिक उपस्थिति थाहा पाउन सकिंदैन । र, उनले अपरिचित ठाउँको लोकेसन दिन्छ । त्यस्तै यस्ता अकाउन्टमा नकारात्मक कमेन्ट नै भेटिंदैनन् ।

किनभने एकपटक कोही व्यक्ति ठगियो भने उसले ती भिडिओमा आफू ठगिएको कमेन्ट गर्छ । तर, उक्त अकाउन्ट चलाउने स्क्यामरले ती कमेन्ट डिलिट गरिदिन्छ । त्यस्तै केही कीवर्ड पहिले नै फिल्टर गरिएको हुन्छ जसले गर्दा नकारात्मक वा ठगीको विषयमा गरिएका कमेन्ट आफै हाइड हुन्छन् । सबै सकारात्मक कमेन्ट छ भने पनि झट्ट विश्वास गरिहाल्न घातक हुन्छ । 

यसरी टिकटकबाटै व्यापार गर्ने, राम्रो प्रचार गर्ने अथवा डिजिटल माध्यमलाई प्राथमिकता दिने भनेपछि रकम भुक्तानीका लागि व्यवसायीक क्यूआर कोड हुन पर्ने हो । जोकोहीले सहजै व्यवसायीक क्यूआर कोड पाउँदैनन् । त्यसका लागि आफ्नो वास्तविक व्यवसायको विवरण बुझाउनुपर्ने हुन्छ ।

तर, स्क्यामरले मनी म्युल अकाउन्ट प्रयोग गर्छन् । र, उपभोक्तालाई रकम व्यक्तिगत बैंक खातामा पठाउन लगाउँछन् । कुनै पनि पसलेले अनलाइनमा व्यापार गरेको छ तर रकम भने व्यक्तिगत अकाउन्टमा पठाउन भनेको छ भने त्यसमा पनि शंका गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ २०:२२