close

कुटपिटको भिडिओ भाइरल भएपछि अशोक: मागेर खाएँ तर कहिल्यै चोरिनँ, षड्यन्त्रपूर्वक फसाउन खोजियो

टेकपाना टेकपाना

साउन ११, २०८३ ०:२१

कुटपिटको भिडिओ भाइरल भएपछि अशोक: मागेर खाएँ तर कहिल्यै चोरिनँ, षड्यन्त्रपूर्वक फसाउन खोजियो

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको कुटपिटको भिडिओबारे बालगायक तथा कलाकार अशोक दर्जीले मुख खोलेका छन् । आफूमाथि चोरको आरोप लगाउँदै बीच सडकमा कुटपिट गरिएको भिडिओ सार्वजनिक भएपछि उनले स्पष्टीकरण दिएका हुन् ।

आफू अभिनित चलचित्र 'पार्वती' को टिजर सार्वजनिक गर्न झापाबाट काठमाडौं आइपुगेका दर्जीले आफूमाथि अन्याय भएको र उल्टै आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।

अशोकले आफूमाथि लागेको चोरीको आरोप पूर्णतः निराधार भएको बताएका छन् । उनले सोमबार एक भिडिओ पोस्ट गर्दै भनेका छन्, “म गलत छैन, म सहि छु भन्ने मलाई थाहा छ । तपाईँहरूले भिडिओमा आधा कुरा मात्र देख्नुभएको छ, तर त्यहाँ फुल सिन के भएको थियो भन्ने कसैलाई थाहा छैन ।”

अशोकका अनुसार भिडिओ खिच्नुअघि नै उनलाई चक्कु र हेलमेट देखाएर तर्साइएको थियो । उनले अगाडि थपे, “भिडिओ खिच्नुभन्दा अगाडि नै उनीहरूले मलाई चक्कु जस्तै वस्तु देखाएर धम्की दिएका थिए । उनीहरूको हातमा हेलमेट थियो, उनीहरूले जेले पनि प्रहार गर्न सक्थे । त्यसैले म डराएर केही बोल्न सकिनँ ।”

दर्जीले सो घटनामा संलग्न व्यक्तिहरूले नै उल्टै पैसा चोरी गरेको र आफूलाई षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका छन् । उनले भनेका छन्, “पैसा हामीले चोरेको होइन, पैसा चोर्ने पनि उनीहरू नै हुन्, हान्ने र भिडिओ बनाउने पनि उनीहरू नै हुन् । हाम्रै गाउँको छिमेकी दाइको पैसा उनीहरूले नै चोरेका थिए, पछि मैले सोध्न जाँदा उल्टै मलाई कुटपिट गरेर चोरको आरोप लगाएका हुन् ।”

अशोकले कुटपिटमा संलग्न अंकित प्रधान र शुक्रे नाम गरेका युवकहरूले आफ्नो भविष्यसँग खेलबाड गर्न खोजेको बताएका छन् । अंकित प्रधानलाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले जानकारी दिएका छन् ।

आफ्नो विगत सम्झँदै अशोकले आफू गरिबीबाट आएको भए पनि कहिल्यै गलत काम नगरेको बताएका छन् ।

उनले भने, “म सानैदेखि मागेरै खाएँ, मेरो इतिहास बेलडाँगीमा गएर सोध्नुभयो भने सबैले भनिदिनुहुन्छ । मैले तीन–चार जना भाइबहिनीलाई पालेर हिँडेको थिएँ, तर कहिल्यै कसैको सामानमा लामो हात गरिनँ ।”

घटनापछि आफ्नो परिवार र आफन्त निकै चिन्तित भएको भन्दै उनले न्यायका लागि प्रहरी र आम दर्शकलाई आग्रह गरेका छन् । “मेरो आमाबुबा रोइरहनुभएको छ, म हिजोदेखि सुत्न सकेको छैन । म तपाईँहरूकै छोरा र बच्चा जस्तै हुँ, मलाई साथ दिनुहोला,” उनले भावुक हुँदै भनेका छन् ।

यसअघि नै अशोकले असार २२ गते इलाका प्रहरी कार्यालय अनारमणीमा उजुरी दिइसकेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८३ ०:२२