काठमाडौं । कोभिड-१९ महामारीका बावजुद पनि स्मार्टवाचको बजार फस्टाएको छ । काउन्टरप्वाइन्ट रिसर्चले हालै जारी गरेको ‘ग्लोबल स्मार्टवाच शिपमेन्ट ट्रयाकर’ अध्ययन प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा स्मार्टवाचको बजार २७ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा एप्पलले आफ्नो दबदबा कायम राख्न सफल भएको छ । हालै एप्पल वाचका सक्रिय प्रयोगकर्ता १० करोड पुगेका छन् । स्मार्टवाचको विश्वबजारमा एप्पल वाचको हिस्सा २८ प्रतिशत छ ।
हुन त गत वर्षको सोही अवधिको तुलनामा भने एप्पल वाचको बिक्री २ प्रतिशतको हाराहारीमा घटेको छ ।
यसको कारण चिनियाँ तथा भारतीय ब्राण्डका स्मार्टवाचको बढ्दो प्रयोगलाई लिइएको छ ।
स्मार्टवाच बजारमा उत्कृष्ट पाँच ब्राण्डमध्ये ओईएम, सामसङ र गारमिनले उल्लेख्य वृद्धि गरेका छन् । अघिल्लो वर्षको तुलनामा यी कम्पनीका स्मार्टवाचको बजार ४३ देखि ६२ प्रतिशतले बढेको छ ।
सामसङको हकमा ग्यालेक्सी वाच थ्री र वाच एक्टिभ २ को बिक्रीले सबैभन्दा सहयोग पुगेको छ । जसको प्रतिफल अघिल्लो वर्ष गुमाएको बजार पुनः प्राप्त गर्न सामसङ सफल भएको छ ।
अध्ययन अनुसार गारमिनले यो वर्षको दोस्राे त्रैमासमा हालसम्मकै सबैभन्दा बढी स्मार्टवाच बिक्री गर्न सफल भएको छ ।
अर्कोतर्फ चिनियाँ ब्राण्ड ह्वावेका स्मार्टवाचको बजार भने गत वर्षको तुलनामा केही घटेको छ । बजार घटेता पनि ह्वावे ९.३ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा रहेका छ । भने, सामसङ तेस्रो स्थानमा छ ।