काठमाडौं । पछिल्लो समय अडियो प्लेटफर्ममा चर्चित क्लबहाउसले आफ्नो अडियो फिचरमा नयाँ अपडेट ल्याएको छ । कम्पनीले आईओएस प्रयोगकर्ताका लागि स्पेशल (spatial) अडियो फिचर सार्वजनिक गरेको हो ।
याे फिचरसँगै अब आईओएस प्रयोगकर्ताले थप जीवन्त छलफल गर्नसक्ने भएका छन् । अब तपाईंले वक्ताको आवाज कस्तो छ भनेर मात्र होइन, प्रयोगकर्ता कहाँ बसेर बोलिरहेको छ भनेर पनि थाहा पाउन सक्नुहुन्छ ।
पहिलेका छलफलमा सहभागीहरूको आवाज रेडियोमा सुने जस्तो हुन्थ्यो भने यो सुविधासँगै अब आमने-सामने बसेर बोलेजस्तो सुनिने छ ।
क्लबहाउसका अनुसार सबै प्रकारका वायर्ड र वायरलेस हेडफोनले यो सुविधा सपोर्ट गर्नेछ । विस्तारै यो सुविधा सबै अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।