close

प्रभावकारी बन्दै प्रविधिमैत्री शिक्षण सिकाइ

टेकपाना टेकपाना

भदौ १५, २०७८ ७:३०

प्रभावकारी बन्दै प्रविधिमैत्री शिक्षण सिकाइ

विराटनगर । प्रदेश १ सरकारले विद्यालय तहमा सुरु गरेको ‘ई-शिक्षा’ कार्यक्रमले विद्यालय तहको शिक्षण सिकाइ प्रभावकारी भएको सरोकारवालाले बताएका छन् ।

विद्यालय तहको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रमले विद्यालय शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनुका साथै विद्यार्थीको सिकाइसमेत उपलब्धिमूलक बनाएको विराटनगरस्थित पोखरीया माविका प्रधानाध्यापक खेमराज भट्टराई बताउँछन् ।

‘सुरुमा स्मार्ट स्कुल बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले पछिल्लो दिनमा कोरोना भाइरसको महामारीको समयमा समेत पठनपाठनलाई सहज बनाउन सहयोग पुगेको छ,’ प्रधानाध्यापक भट्टराईले भने ।

त्यस्तै शिक्षकहरूलाई विषयवस्तुसँग अद्यावधिक हुन, शिक्षकको क्षमता विकास गर्न, सिकाइलाई समय सापेक्षता बनाउन र विद्यार्थीलाई पठनपाठनमा केन्द्रित हुन पनि ई-शिक्षाले सहयोग पुगेको उनको बुझाई छ ।

त्यस्तै विद्यालयमा ई-शिक्षा कार्यक्रम लागू भएपछि आफ्नो विद्यालयको पठनपाठनमा सुधार आएको सङ्खुवासभाको टुम्लिङ्टारस्थित मनकामना रत्न अम्बिका माविका प्रधानाध्यापक कुवेर भेटवाल बताउँछन् ।

तीन वर्षअघिसम्म उक्त विद्यालयका एकाधबाहेक अधिकांश शिक्षक कम्प्युटर खोल्नसमेत जान्दैनथे तर अहिले ९५ प्रतिशत शिक्षकले ल्यापटप चलाउन सिकेको प्रधानाध्यापक भेटवालको भनाइ छ ।

विगतमा कम्प्युटर प्रविधिको कुनै प्रयोग नै नभएको उक्त विद्यालयको २६ वटा कक्षाकोठामा अहिल स्मार्ट टीभी सेटमार्फत पठनपाठन सञ्चालन हुँदै आएको छ ।

विद्यालयको ४० प्रतिशत लगानीमा सबै शिक्षकले ल्यापटप खरिद गरी विद्यालयको पठनपाठनमा प्रयोग गरेका छन् ।

प्रदेश १ सामाजिक विकास विकास मन्त्रालयले २०७५ सालबाट प्रदेशभित्रका १०० विद्यालयबाट सुरु गरेको कार्यक्रम अहिले प्रदेशभित्रका २१० विद्यालयमा सञ्चालन भइरहेको मन्त्रालयका ई-शिक्षा कार्यक्रमका फोकल पर्सन मानबहादुर देवकोटाले बताए ।

-गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१