काठमाडौं । यदि तपाईं आफ्नो मोटरबाइकको लागि आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो खबर सुखद नहुन सक्छ ।
हालै एप्पलले एक सूचना जारी गर्दै मोटरबाइकको इन्जिनले पैदा गर्ने हाई एम्प्लिट्युड भाइब्रेसनले आईफोनको क्यामेरा खराब गर्नसक्ने जनाएको छ ।
यस्तो भाइब्रेसन बाइकको ह्यान्डलमार्फत प्रसारण भएर बाइकमा राखिएको आईफोनको क्यामेरालाई असर गर्ने कम्पनीले बताएको हो ।
पछि बनाउन नमिल्ने गरेर फोनको क्यामेरा बिग्रन सक्ने कम्पनीको भनाइ छ ।
बाइकको ह्यान्डलमा फोन राखेर विशेषगरी नेभिगेसनका लागि प्रयोग गर्ने धेरैजसो आईफोन प्रयोगकर्ताको क्यामेरा बिग्रेको पुष्टि भएको छ ।
अहिले आएर एप्पलले यस विषयमा प्रयोगकर्तालाई सावधानी अपनाउन सूचना किन जारी गर्यो भन्ने कुराको कुनै कारण नदिए पनि कसरी यस्तो समस्या आउँछ भन्ने विषयमा एप्पलले सूचनामा खुलाएको छ ।
कम्पनीका अनुसार लामो समयसम्म हाई एम्प्लिट्युड भाइब्रेसनको सम्पर्कमा आउँदा फोनको क्यामेरा अप्टिकल इमेज स्टेबलाइजेसन र क्लोज लुप अटोफोकसमा समस्या आउँछ ।
यसर्थ एप्पलले प्रयोगकर्तालाई हाई पावर अथवा हाई भोल्युम इन्जिन भएका मोटरसाइकलमा आईफोन ह्यान्डलमा राखेर प्रयोग नगर्न अनुरोध गरेको छ ।