काठमाडौं । एप्पलले जुनमा भएको आफ्नो डेभलपर कन्फ्रेसमै फेसटाइम एन्ड्रोइड र विण्डोजबाट पनि प्रयोग गर्नसक्ने फिचरको घोषणा गरेको थियो ।
आईओएस फिफ्टिन रिलिज भएसँगै फेसटाइममा केही फिचर थपिएका छन्, जसका कारण एप्पलको लोकप्रिय भिडिओ कलिङ सेवा फेसटाइम जुमजस्तै बनेको छ ।
अब एन्ड्रोइड र विण्डोज प्रयोगकर्ताले समेत फेसटाइम प्रयोग गरी अरुसँग कुराकानी गर्न सक्नेछन् । तर यसको अर्थ फेसटाइम प्रयोगका लागि आईफोन नै आवश्यक नपर्ने चाहिँ होइन ।
अनलाइन मिटिङका लागि उपयोगी सफ्टवेयर जुम र टिम्सजस्तै फेसटाइममा पनि अब ग्रीड भ्यू, पोट्रेट मोड, सेड्युल कलजस्ता फिचर थपिएको छ । यो फिचर आईओएस, एन्ड्रोइड र विण्डोजका प्रयोगकर्ताले पनि अनुभव गर्न पाउँछन् ।
एन्ड्रोइड र विण्डोजमा फेसटाइम कसरी प्रयोग गर्ने ?
एन्ड्रोइड र विण्डोजमा फेसटाइम प्रयोग गर्न सबैभन्दा पहिला आईफोनबाट लिंक बनाउनुपर्छ । यसको लागि आईफोनमा आईओएस फिफ्टिन इन्स्टल भएको हुनुपर्छ ।
आईओएसका सबैभन्दा पछिल्लो संस्करण प्रयोग गरिरहेका प्रयोगकर्ताले मात्रै फेसटाइमको नयाँ फिचर प्रयोग गर्न पाउँछन् ।
एन्ड्रोइड र विण्डोजमा पनि फेसटाइम प्रयोग गर्न दिन आईफोन प्रयोगकर्ताले लिंक बनाएर शेयर गर्नुपर्छ ।
१. सुरुमा, आईफोनमा फेसटाइम एप खोल्ने ।
२. त्यहाँ भएको क्रियट लिंक अप्सनमा ट्याप गर्ने । ३. अब स्क्रिनमा नयाँ स्लाइड देखिन्छ जसमा फेसटाइम लिंक लेखिएको हुन्छ । त्यसको तलपट्टि आफूले गर्ने कुराकानीको नाम राख्ने सुविधा पनि हुन्छ ।
४. यो प्रक्रियापछि फेसटाइम लिंक शेयर गर्ने विभिन्न विकल्प देखिन्छ । यो लिंकलाई म्यासेजिङ एप वा ईमेलमार्फत पनि अरुसँग शेयर गर्न सकिन्छ ।
५. फेसटाइम लिंक क्रियट गर्ने आईफोन प्रयोगकर्ताले लिंकमा ट्याप गरी मिटिङमा पस्न सक्छन् ।
फेसटाइमको लिंक पाएका एन्ड्रोइड र विण्डोज प्रयोगकर्ताले के गर्ने ?
१. आईफोन वा एप्पलका डिभाइस प्रयोगकर्ताबाट फेसटाइम लिंक पाएका एन्ड्रोइड वा विण्डोज प्रयोगकर्ताले भने मिटिङमा जोडिँदा लिंकमा ट्याप गर्नुपर्छ ।
यो लिंकले एन्ड्रोइड र विण्डोज प्रयोगकर्तालाई वेटिङ रुपमा पुर्याउँछ । आईफोन प्रयोगकर्ताले अनुमति दिएपछि उनीहरुले मिटिङमा जोडिन पाउनेछन् ।
२. फेसटाइम लिंक ब्राउजरबाट खुल्छ । यसको लागि एन्ड्रोइड वा विण्डोज प्रयोगकर्ताको ब्राउजर अपडेट भएको हुनुपर्छ ।
३. ब्राउजरमा फेसटाइम लिंक खुल्दा सुरुमा ‘वेटिङ टु बी लेट इन’ भन्ने अप्सन देखाउँछ । तपाईंलाई फेसटाइम लिंक पठाउने एप्पल डिभाइस प्रयोगकर्ताले अनुमति दिएपछि तपाईं फेसटाइममार्फत मिटिङमा जोडिन सक्नुहुन्छ ।