कठमाडौं । टेस्लाका सीईओ एलन मस्क कुन कार चढ्छन् ? के जेफ बेजोस मौसमको बारेमा जान्न एलेक्सामा निर्भर छन् ? बिल गेट्सको मनपर्ने अपरेटिङ सिस्टम के हो ? मार्क जुकरबर्गले डेटा गोपनीयता कसरी कायम राख्छन् ?
प्रविधिका यी हस्तीको जीवनलाई नजिकबाट नियाल्न चाहनेहरुका लागि यस्ता जिज्ञासा स्वभाविक, तर रोचक हुन्छन् । आज हामी तपाईंहरुलाई यस्तै रोचक विषय पस्कँदै छौं । प्रविधिका दिग्गज कम्पनी हाँकिरहेका व्यक्तिहरुले कस्तो फोन चलाउँछन् त ?
१. बिल गेट्स
माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स कुनै कार्यक्रममा जाँदा एक आईफोन साथमा राख्छन्, तर अन्य सबै समयमा उनीसँग दिनहुँ एन्ड्रोइड फोन हुन्छ ।
उनले प्रयोग गर्ने आईफोन धेरै पुरानो (आईफोन ५ एस) हो र उनी यसलाई एन्ड्रोइड फोनसँग तुलना गर्नका लागि मात्र प्रयोग गर्छन् ।
२. जेफ बेजोस
अमेजनका मालिक एवं संस्थापकले २०१२ मा ब्ल्याकबेरी फोन प्रयोग गरेका थिए र अमेजनको फायर फोन सुरु गर्नुअघि उनी सामसङ ह्यान्डसेटमा देखिएका थिए । उनी हाल कुन फोन प्रयोग गरिरहेका छन् भन्ने कुनै जानकारी छैन ।
३. एलन मस्क
टेस्लाका सीईओले कुनै पनि विशेष ब्राण्डको फोन प्रयोग गरेको खुलेर स्वीकार नगरे पनि उनले आफ्नो अन्तर्वार्तामा धेरैपटक आईफोन वा आईप्याडबारे उल्लेख गरेका छन् । यसबाट उनी एक आईफोन पारखी हुन् भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
४. टिम कुक
एप्पल सीईओले सामान्यत: आईफोन र एप्पलका उत्पादनहरू नै प्रयोग गर्छन् । उनी धेरैपटक सार्वजनिक कार्यक्रममा आईफोनसाथ देखिएका छन् । यो आफ्नै उत्पादनहरूमा भएको विश्वासको साँचो परीक्षण पनि हो ।
५. मार्क जुकरबर्ग
फेसबुकका सीईओ मार्क जुकरबर्ग आईफोन प्रयाेग गर्छन् । एप्पलका धेरै अधिकारीहरुसँग उनको व्यक्तिगत सम्बन्धका कारण उनले समय समयमा एप्पलबाट निःशुल्क आईफोन प्राप्त गर्ने चर्चा पनि गरिन्छ ।
६. सुन्दर पिचाई
गुगलका सीईओ सुन्दर पिचाईले सन् २००६ मा आफ्नो पहिलो स्मार्टफोन र सन् १९९५ मा आफ्नो पहिलो फोन मोटोरोला स्टारट्याक किनेका थिए । २०१५ को एक अन्तर्वार्तामा पिचाईले आफ्नो घरमा २०-३० वटा फोन रहेको बताएका थिए ।
७. इभान स्पिगेल
स्न्यापच्याटका संस्थापक इभान स्पिगल पनि आईफोन प्रयोगकर्ता हुन् । आफ्ना डिभाइसप्रति उनि निकै सचेत रहन्छन । आईफाेन नै प्रयोग गर्ने भएपनि अहिले कुन भर्सन प्रयोग गर्छन भन्ने चाहिँ अज्ञात नै छ ।