close

विदेशबाट फ्रड कल आयो ? अब प्राधिकरणले गर्नेछ अनुगमन

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ १०:२३

विदेशबाट फ्रड कल आयो ? अब प्राधिकरणले गर्नेछ अनुगमन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने कलको अनुगमन गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि खारेज गरिएको प्रक्रिया अदालतले उल्ट्याइदिएसँगै बाध्य भएर प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चारको ट्राफिक मनिटरका लागि आवश्यक सिस्टम जडानको प्रक्रिया पुनः अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले ७० करोड पुरक बजेट बोर्डबाट स्वीकृत गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहमतिका लागि पठाउने निर्णयसमेत गरिसकेको छ । २०७४ सालमा प्राधिकरणले यो सिस्टम खरिदका लागि सार्वजनिक सूचनामार्फत अन्तर्राष्ट्रियस्तरमा आशयपत्र माग गरेको थियो ।

जसमा अन्तिम चरणका लागि चार परामर्शदाता छनौट भएका थिए । उनीहरुबाट आएको प्रस्तावलाई मूल्याङ्कन गरी अन्तिममा लेबनानको भ्यानरिस सोलुसन छनोट भएको थियो ।

तर, विज्ञले चार कम्पनीमात्र आउँदा प्रतिस्पर्धा कम भएको भनी राय दिएसँगै प्राधिकरणले पुनः खरिद प्रक्रिया अघि बढाउने भन्दै २०७६ साल वैशाख २४ गते प्रक्रिया खारेज गरेको थियो ।

प्राधिकरणको खरिद प्रक्रिया रद्द गर्ने उक्त निर्णयविरुद्धमा भ्यानरिस सोलुसनले सोही जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । उक्त निवेदनका आधामा सर्वोच्चले गएको वैशाखमा प्राधिकरणको उक्त निर्णय बदर गरिदिएको थियो ।

साथै निवेदक कम्पनीसँग बोलपत्र आह्वान बमोजिमको कानूनी प्रक्रिया पुरा गरी अग्रिम खरिद प्रक्रिया सम्पन्न गर्नसमेत अदालतले आदेश जारी गरेको थियो ।

त्यसैका आधारमा प्राधिकरणका निर्देशक विजयकुमार रोयको संयोजकत्वमा प्राविधिक समिति गठन भएको थियो । उक्त समितिले खरिद प्रक्रिया प्रारम्भ गरेको समय २०७४ देखि हालसम्म यस क्षेत्रमा भएको प्रविधिको विकास सबन्धमा अध्ययन गरेको थियो ।

उक्त समितिले गत असोज १ गते अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाएको थियो । प्रतिवेदनका आधारमा उक्त प्रणालीमा हालसम्म भएको प्रविधिको विकासलाई पनि समावेश गर्ने शर्तमा प्राधिकरणले सोही कम्पनीबाट सिस्टम खरिद गर्ने निर्णय गरेको हो ।

तर, यसका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटमा रकम व्यवस्था गरेको थिएन । त्यो हुँदा हाल प्राधिकरणले ७० करोड पुरक बजेटका बोर्डबाट स्वीकृत गरेको हो ।

साथै उक्त पुरक बजेट मन्त्रालयबाट पास गर्नुपर्ने हुँदा मन्त्रालयमा सहमतिका लागि पठाउने निर्णय भएको समेत उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार यो सिस्टमले विदेशबाट आउने कलको सम्पूर्ण अनुगमन गर्नेछ ।

यसको अर्थ विदेशबाट आएको कलबापत सेवाप्रदायकले कति आम्दानी गरिरहेका छन् भन्ने विषय पनि यसले अनुगमन गर्ने जनाइएको छ । साथै विदेशीबाट आउने फ्रड कललाई समेत रोक्ने यसले मद्धत गर्ने जनाइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१