काठमाडौं । गत जुनमा भारतको रिलायन्स जियो र गुगलले संयुक्त रुपमा जियोफोन नेक्स्टको घोषणा गरेका थिए । एन्ड्रोइडको सुधारिएको अनुभव दिने यो स्मार्टफोन ‘निकै सस्तो’ हुने दाबी गरिएको थियो ।
करिब चार महिनापछि दुवै कम्पनीले अन्ततः भारतीय बजारमा आगामी नोभेम्बरदेखि यो फोनको बिक्री सुरु हुने घोषणा गरेका छन् । जियोफोन नेक्स्टको मूल्य भारु छ हजार ४९९ (१० हजार ३९८ रुपैयाँ) राखिएको छ । जुन उत्कृष्ट सस्ता फोनहरूको दाँजोमा अझै सस्तो हो ।
यसका साथै भारतीय ग्राहकले अग्रिम रुपमा १९९९ भारु तिरेर किस्ताको रुपमा समेत यो फोन खरिद गर्न पाउनेछन् ।
जियोफोन नेक्स्ट खरिद गर्न चाहने प्रयोगकर्ताले जियोको वेबसाइटमा गएर रजिस्टर गर्नुपर्नेछ । यसका साथै नजिकैको जियोमार्ट रिटेलर अथवा वाट्सएपमार्फत ७०१८२७०१८२ मा ‘Hi’ लेखेर समेत प्रयोगकर्ताले रजिस्टर गर्न सक्ने बताइएको छ ।
रजिस्टर पुरा भएर कन्फर्मेसन प्राप्त गरिसकेपछि ग्राहकले नजिकैको जियोमार्ट रिटेलरमा गएर फोन प्राप्त गर्न सक्नेछन् । जियोफोन नेक्स्ट कर्निङ गोरिल्ला ग्लास थ्री प्रोटेक्सन सहितको ५.४५ इन्च एचडी प्लस डिस्प्लेको साथमा आउनेछ ।
क्वालकम स्नापड्रागन २१५ क्वाडकोर चिपसेट रेको यो फोन दुई जीबी र्याम तथा ३२ जीबी स्टोरेजमा पाउन सकिनेछ । यो फोनको पछाडि भागमा सिङ्गल १३ मेगापिक्सेल क्यामेरा रा अगाडि भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
३५०० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन एन्ड्रोइडमा आधारित प्रगति ओएसमा चल्नेछ । जुन भारतीय प्रयोगकर्ताको विशेष किसिमको आवश्यकतालाई मध्यनजर गरी बनाइएको हो ।
जसमा चर्को स्वरले पढ्ने र स्क्रिनमा भएका अक्षरलाई अनुवाद गर्ने, एचडीआरसहितको क्यामेरा गो एप, भारत केन्द्रित स्नापच्याट लेन्स र भ्वाइस फर्स्ट फिचरले प्रयोगकर्तालाई उनीहरूको स्थानीय भाषामा नेभिगेट गर्न सघाउनेछन् ।
गुगल प्ले स्टोरका साथै यो जियोफोन नेक्स्टमा गुगल प्ले प्रोटेक्ट ब्युल्ट-ईन रुपमा रहनेछ । यसमा हुने नियरबाई शेयर फिचरको सहयोगमा जियोफोन नेक्स्टका प्रयोगकर्ताले अन्य एन्ड्रोइड प्रयोगकर्तासँग सहजै फोटो, भिडिओ, म्युजिक, एप आदि शेयर गर्न सक्नेछन् ।
गुगलका अनुसार जियोफोन नेक्स्टले नयाँ फिचर र कस्टमाइजेसनसँगै नियमित रुपमा एन्ड्रोइड सेक्युरिटी अपडेट समेत प्राप्त गर्नेछ ।