काठमाडौं । नयाँ ल्यापटप लिँदा धेरैलाई कुन र कस्ताे लिने भन्ने कुरा तय गर्न निकै दुविधा उत्पन्न हुने गरेको छ ।
आज हामी त्यस किसिमको दुविधा अन्त्य गर्न सघाउने हिसाबले तपाईंलाई ल्यापटप खरिद गर्नुअघि थाहा पाउनुपर्ने केही खास कुराको विषयमा जानकारी दिँदै छौं ।
१. ल्यापटपको प्रयोजन के हो ?
सबैभन्दा पहिले तपाईं ल्यापटप कुन प्रयोजनका लागि खरिद गर्दै हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । यदि तपाईं अफिसको काम वा बालबालिकाको पढाइका लागि खरिद गर्दै हुनुहुन्छ भने धेरै महंगो ल्यापटपको आवश्यकता पर्दैन ।
थोरै स्टोरेज भएको कम पावर भएको हार्डवेयरबाट समेत काम चल्छ । यद्यपि गेमिङ वा एडिटिङ लगायतको कुनै अन्य प्रोफेसनल प्रयोगका लागि लिनुपर्ने छ भने ल्यापटप थोरै महंगो पर्न जान्छ । जसमा र्याम र स्टोरेज धेरै भएको लिनुपर्ने हुन्छ ।
२. कति खर्च गर्ने ?
यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ३५ देखि ५० हजार रुपैयाँको रेञ्जमा राम्रै ल्यापटप पाउन सकिन्छ । तर सस्तोभन्दा दुई/चार हजार खर्च गरेर राम्रो ल्यापटप खरिद गर्ने कुरामा कञ्जस्याई भने सकेसम्म नगरेकै राम्रो ।
किनभने ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने भएका कारण पछिल्लो प्रविधियुक्त ल्यापटप खरिद गर्नु नै बुद्धिमानी हुन्छ ।
३. प्रोसेसर र र्याम
नयाँ ल्यापटप खरिद गर्दाको समयमा कमसेकम आई फाइभ दशौं पुस्ताको प्रोसेसर वा त्यसभन्दा पनि लेटेस्ट प्रोसेसर होस् भन्नेमा ख्याल गर्नुहोस् । यदि र्यामको कुरा गर्नुहुन्छ भने आजकल कमसेकम चार जीबी र्याम त हुनैपर्छ ।
यसैगरी ल्यापटपमा २५० जीबी वा त्यसभन्दा माथिको स्टोरेज हुँदा राम्रो । ल्यापटपको स्पेसिफिकेसन जति राम्रो भयो ल्यापटपले गर्ने काम त्यति नै उत्तम हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।
४. ल्यापटपको लुक्स
आजकल स्लिक ल्यापटप एकप्रकारको फेसन बनिसकेको छ । जसको साइज १४ इन्च हुन्छ । यद्यपि सानो आकारका ल्यापटप केही महंगो पर्ने गर्दछन् र १५.६ इन्चको ल्यापटप सस्तो हुने गर्दछ ।
यताउता लैजानका लागि भने ल्यापटप जति सानो भयो त्यति नै सहज हुन्छ । यसबाहेक ल्यापटप खरिद गर्दाको समयमा त्यसको तौलको समेत ख्याल गर्नुपर्ने हुन्छ । पछिल्लो समय आएका ल्यापटप हलुका हुन्छन् भने पुराना ल्यापटप केही गह्रौं हुने गर्दछन् ।
५. डिस्प्ले
सधैंजसो नन् रिफ्लेक्टिभ स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुहोस् । त्यसमा कमसेकम ७२० पिक्सेल रेजोलुसन युक्त स्क्रिन होस् । ल्यापटपमा कति प्रकारका कनेक्टिभिटी पोर्ट उपलब्ध छन् भन्ने कुराको समेत ख्याल राख्नुहोस् ।
सामान्यतया यस्तो ल्यापटप खरिद गर्नेतर्फ सचेत हुनुहोस्, जसमा कमसेकम टाइप ए यूएसबी पोर्ट, एउटा टाइप सी पोर्ट, हेडफोन ज्याक, एउटा ल्यान पोर्ट, माइक्रो एसडी र एक एचडीएमआई पोर्ट होस् ।