काठमाडौं । चीनमा चिप उत्पादन बढाउने इन्टेलको योजनाप्रति अमेरिकी सरकारले चासो राखेको छ । अमेरिकी कम्पनीले चीनमा उत्पादन क्षमता बढाउने योजना बनाउँदा सुरक्षालाई कारण देखाउँदै सरकारले चासो राखेको हो ।
ब्लुमबर्गमा प्रकाशित एक समाचारअनुसार अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले चीनको छेङ्दुमा सिलिकन वाफर उत्पादन गर्ने प्रस्ताव गरेको छ । इन्टेलले सन् २०२२ को अन्त्यतिरबाट उत्पादन थाल्ने गरी चीनमा उद्योग विस्तार गर्न लागेको हो ।
इन्टेललाई चीनमा उद्योग विस्तार गर्ने योजना नबनाउन सरकारी तबरबाट अनुरोध आइरहेको सो समाचारमा उल्लेख छ ।
चिप अभावको समस्या चाँडै समाधान गर्न र उत्पादन बढाउन अमेरिकी सरकारले इन्टेललाई लगानी समेत गर्दै आएको छ ।
‘इन्टेल र अमेरिकी सरकारको समान लक्ष्य भनेको अहिले भइरहेको चिप अभावको अन्त्य गर्नु हो । यसका लागि हामीले सरकारसँग विभिन्न विकल्पमा छलफल गरिरहेका छौं,’ इन्टेलले ब्लुमवर्गलाई दिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
चीनमा उद्योग विस्तार गर्ने इन्टेलको योजनामा सरकार अनिच्छुक देखिएपछि अब अमेरिका वा युरोपेली मुलुकमा इन्टेलले उद्योग विस्तार गर्न सक्ने सम्भावना रहेको ब्लुमबर्गले लेखेको छ ।
अमेरिकी राष्ट्रपति वाइडेनको सरकारले पनि यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति लिएको नीतिलाई अंगीकार गरिरहेको छ । पूर्व राष्ट्रपति ट्रम्पले अमेरिकी प्रविधि कम्पनीलाई लगाएको प्रतिबन्धलाई अहिलेको सरकारले पनि निरन्तरता दिइरहेको छ ।