close

ट्रुकलरको नयाँ भर्सन सार्वजनिक, अब फोन आएको बहाना गर्न सजिलो हुने

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १२:१९

ट्रुकलरको नयाँ भर्सन सार्वजनिक, अब फोन आएको बहाना गर्न सजिलो हुने

काठमाडौं । कलर आईडी एप ट्रुकलरले आफ्नो नयाँ भर्सन आउँदो साताबाट प्रयोगकर्तामाझ उपलब्ध गराउने भएको छ । नयाँ भर्सन १२ सँगै ट्रुकलरले प्रयोगकर्तामाझ विभिन्न आकर्षक फिचर उपलब्ध गराउने उल्लेख छ ।

जसमा सबैभन्दा महत्त्वपूर्ण कुरा ट्रुकलरको डिजाइनमा उल्लेख्य परिवर्तन देख्न पाइन्छ । यसअघि झन्झटिलो रहेको कल तथा एसएमएस ट्याबलाई छुट्याएर अलग राखिएको छ । जसमा एसएमएस सेक्सनमा तपाईंले ग्रुप तथा पर्सनल रुपमा गर्ने कुराकानीहरू रहनेछन् ।

यसअघि उपलब्ध कल अलर्ट, कल रिजन, फुल स्क्रिन कलर आईडी, इनबक्स क्लिनर लगायतका फिचर भने कायमै छन् । अर्को नयाँ फिचरको रुपमा भिडिओ कलर आईडी थप गरिएको छ । यसको अर्थ अब तपाईंले कुनै साथी तथा आफन्तको नम्बरमा कल गर्दा ब्याकग्राउन्डमा सम्बन्धित व्यक्तिको भिडिओ राख्न सक्नुहुनेछ ।

New Truecaller 12 features

यसअघि सम्म ट्रुकलरले फोटो कलर आईडी मात्रै उपलब्ध गराउँदै आएको थियो । त्यसरी राखिने भिडिओ तपाईंले तत्कालै खिचेर, मोबाइलमा भएको भिडिओ काटेर अथवा ट्रुकलरले उपलब्ध गराएको टेम्प्लेटमार्फत बनाएर पनि राख्न सक्नुहुनेछ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको कल रेकर्डिङ हो । यसअघि यो फिचर कम्पनीले प्रिमियम भर्सनमा मात्रै उपलब्ध गराएको थियो । तर, अब भने यो फिर सबै प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ । यदि तपाईं कुनै कार्यक्रममा बस्न चाहनुहुन्न र तपाईंलाई कसैको फोन आएको बहाना पार्नु छ भने ट्रुकलरले नयाँ भर्सनमा उक्त सुविधा पनि उपलब्ध गराएको छ ।

कम्पनीले नयाँ भर्सनमा ‘घोस्ट कल’ नामक फिचर उपलब्ध छ । उक्त फिचर मार्फत आफ्नै फोनमा फेक कल गर्न सकिने जनाइएको छ । त्यसमा तपाईंले कुनै व्यक्तिको फोन नम्बर, नाम तथा उसको फोटा राखेर सेट गर्न सक्नु हुनेछ । यसो गर्दा तपाईंले सेट गरेको नम्बरबाट तपाईंको मोबाइलमा फेक कल आउने छ ।

यसका साथै ट्रुकलरले फोन आउँदा कसले फोन गरेको हो भनेर आवाजमा समेत बताउने छ । यो फिचरका लागि भने तपाईंले त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ । यो फिचर तपाईंको मोबाइलमा सेभ भएका नम्बर र ट्रुकलरले पहिचान गरेका दुवै नम्बरमा काम गर्न सक्ने जनाइएको छ ।

उल्लेखित फिचर सहितको नयाँ भर्सन कम्पनीले आउँदा साता भारतीय बजारमा उपलब्ध गराउनेछ । त्यसपछि, क्रमशः देशका प्रयोगकर्तामाझ समेत उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२