काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा फोकसवान पेमेन्ट सोलुसन्स प्रालि आवद्ध भएको छ । यो सँगै फोकसवान पेमेन्ट सोलुसन्स एनपीएसमा आवद्ध हुने पहिलो भुक्तानी सेवा प्रदायक बनेको छ ।
यसका लागि एनसीएचएल र फोकसवान बीच मंगलबार सम्झौता भएको हो । सम्झौतापत्रमा फोकसवानका तर्फबात प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनपीएस स्विच अन्तर्गत पहिलो चरणमा उपलब्ध हुने विभिन्न सेवा तथा उपकरण फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक वित्तिय संस्थालाई पनि उपलब्ध गराउने छ ।
यसअघि नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत एनपीएसको विषय समेटिएको थियो । त्यसैका आधारमा एनपीएसको पहिलो चरणको कार्यान्वयनका एनसीएचएललाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको थियो । सोही अनुरूप एनसीएचएले पहिलो चरणको काम सम्पन्न गरि यसलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
यसै क्रममा एनपीएसको कार्यान्वयनकालागि एनसीएचएलले विभिन्न बैंक/वित्तिय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकसँग आवश्यक सहकार्य गरिरहेको कम्पनीले जनाएको छ ।
एनपीएसको पहिलो चरणमा रिटेल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेट वर्क क्यूआर उपलब्ध हुनेछ ।
साथै डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तरआवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआवद्धता लगायतका भुक्तानी उपकरण उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको जनाइएको छ ।
नेशनल पेमेन्ट स्विचको कार्यान्वयन सँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवाला सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।