close

नेपालबाटै विदेशीको काम गर्ने फ्रिल्यान्सरले अब सिधै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी लिन सक्ने

टेकपाना टेकपाना

बैशाख ७, २०८३ २०:२९

नेपालबाटै विदेशीको काम गर्ने फ्रिल्यान्सरले अब सिधै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी लिन सक्ने

काठमाडौँ । नेपालमा बसेर विदेशी कम्पनी वा ग्राहकका लागि काम गर्ने फ्रिल्यान्सर र डिजिटल उद्यमीहरूका लागि ‘खल्ती बाई आइएमई’ मोबाइल वालेटले नयाँ सेवा भित्र्याएको छ । आइएमई लिमिटेड र विश्वचर्चित पेमेन्ट गेटवे ‘स्ट्राइप’ सँगको रणनीतिक साझेदारीमा अन्तर्राष्ट्रिय भुक्तानी सिधै खल्ती वालेटमा प्राप्त गर्ने सेवा सुरु गरिएको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै खल्तीले नेपाली फ्रिल्यान्सर र व्यवसायीहरूले विदेशबाट हुने भुक्तानी अब कुनै झन्झट बिना रियल-टाइम अर्थात् तत्कालै आफ्नो खल्ती वालेटमा पाउने जानकारी दिएको छ ।

यो सेवाअन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो एपमार्फत विदेशी ग्राहकलाई ‘भुक्तानी अनुरोध’ (Payment Request) पठाउन सक्नेछन् । उक्त अनुरोध प्राप्त गरेपछि विदेशी कम्पनी वा ग्राहकले स्ट्राइप गेटवेमार्फत भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे वा ई-बैंकिङजस्ता विभिन्न माध्यम प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुने खल्तीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो साझेदारीलाई नेपालको फिनटेक क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरे । “यो सेवाले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी बजारमा काम गर्न र कमाएको रकम तत्काल प्राप्त गर्न ढोका खोलेको छ,” रेग्मीले भने, “स्वदेशी डिजिटल वालेटले अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्नुले नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा ठूलो योगदान पुग्नेछ ।”

 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ २३:४७