close

टेलिकमलाई अब डलर भुक्तानीमा सहज, राष्ट्र बैंकले बढायो सीमा

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १८:२९

टेलिकमलाई अब डलर भुक्तानीमा सहज, राष्ट्र बैंकले बढायो सीमा

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले विभिन्न दूरसञ्चार सेवाबापत विदेशमा गर्नुपर्ने डलर भुक्तानीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले दूरसञ्चारसम्बन्धी सेवा खरिदका लागि गरिने विदेशी भुक्तानीमा थप सहुलियत प्रदान गरेको हो ।

सोमबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७६ मा संशोधन/परिमार्जन गरी थप व्यवस्था जारी गरेको छ । जसमा सरकारी निकाय टेलिकमको हकमा २५ हजार डलर सटही सुविधा थप गरेको हो ।

योसँगै अब टेलिकमले इन्टरकनेक्सन, ब्याण्डविथ, रोमिङ, मेम्बरिशप शुल्क लगायतका दूरसञ्चारसम्बन्धी सेवाको विदेशी भुक्तानी पठाउँदा ७५ हजार अमेरिकी डलरसम्म गर्न सक्नेछ ।

यसअघि टेलिकमले बढीमा ५० हजार अमेरिकी डलरमात्रै भुक्तानी गर्न पाउने व्यवस्था थियो । तर, ५० हजार डलरमात्रै दूरसञ्चार कम्पनीका लागि अपुग भएको भन्दै मन्त्रालयबाट सिफारिस भएसँगै राष्ट्र बैंकले त्यसलाई परिमार्जन गरी थप सहुलियतसहित नयाँ व्यवस्था कायम गरेको हो ।

यसका साथै दूरसञ्चार पार्टपुर्जा तत्कालै मगाउनु परेको खण्डमा जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नसक्ने व्यवस्थासमेत राष्ट्र बैंकले गरेको छ ।

यस अघिसम्म दूरसञ्चारका पार्टपुर्जा तत्कालै मगाउनु परेको खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट मात्रै आयात गर्न सकिने व्यवस्था थियो ।

त्यसलाई परिमार्जन गर्दै अब दूरसञ्चार सेवाप्रदायकले अन्य अन्तर्राष्ट्रिय विमानस्थलसमेत प्रयोग गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२