काठमाडौं । ह्वावेले तयार गरिरहेको आफ्नो नयाँ स्मार्टवाचमा प्रयोगकर्ताको रक्तचाप मापन गर्न मिल्ने फिचर उपलब्ध गराउने सूचना बाहिरिएको छ । ह्वावले आफ्नो नयाँ स्मार्टवाच ‘ह्वावे वाच डी’ ल्याउने तयार गरिरहेको छ ।
विबोमा लिक भएको एक भिडिओका अनुसार सो स्मार्टवाचमा वाचको ब्यान्डसँगै जोडिएर अर्को छुट्टै ब्यान्ड पनि उपलब्ध हुनेछ । सो ब्यान्डलाई वाचमा अट्याच गरेर रक्तचाप मापन गर्न सकिनेछ ।
तपाईंको रक्तचाप मापन भइरहँदा अन्य रक्तचाप मापन गर्ने मसिनजस्तै सो ब्यान्ड पनि फुलेर आउँछ र रक्तचाप मापन भइसकेपछि ‘ह्वावे हेल्थ’ मार्फत रक्तचापको विवरण मोबाइलमा उपलब्ध हुनेछ ।
यसले रक्तचाप मापनसँगै अन्य स्मार्टवाचमा भए जस्तै मुटुको धड्कन, हिँड्दा-दौडिँदाको मापनहरू पनि गर्नेछ । यसमा ३२ एमबीको स्टोरेज हुने बताइएको छ भने यो ब्लुटथ कनेक्शनबाट चल्नेछ ।
यसको फिचरका कारण पनि यो एप्पल वाचको प्रतिस्पर्धी हो भनेर ठ्याक्कै त भन्न सकिँदैन । यद्यपि अमेरिकी सरकारले लगाएको प्रतिबन्धपछि आफ्नो व्यावसाय विस्तार गर्न ह्वावेले नयाँ प्रविधिकाे स्मार्टवाचमा ल्याउन लागेकाे विश्लेषण गरिएकाे छ ।