अति ढिलासुस्ती देखिएको भन्दै टेलिकमलाई तुरुन्तै एक्सनमा जान सञ्चार सचिवको निर्देशन
माघ ६, २०७८ १५:१३
काठमाडौं । फाइबर टु दि होम इन्टरनेट जडानमा नेपाल टेलिकमले ढिलाई गरेको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले तत्काल एक्सनमा जान निर्देशन दिएका छन् । ट्वीटरमा गरिएको ध्यानाकर्षणका लागि गरिएको मेन्सनमा प्रतिक्रिया दिँदै टेलिकमका पदेन अध्यक्ष समेत रहेका सञ्चार सचिव अर्यालले यस्तो निर्देशन दिएका हुन् ।
केही दिन अघि मात्र एक जना प्रयोगकर्ताले फेसबुकमा लामो स्टाटस लेख्दै टेलिकमप्रतिको गुनासो व्यक्त गरेका थिए । नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न आफू नक्साल गएको उल्लेख गर्दै उनले त्यहाँबाट चाबहिल जान सल्लाह दिइएको बताएका छन् ।
‘चाबहिल गइयो, इस्टमेट गराएर ल्याउनु भने । इस्टमेट गराउने ठाउँमा जाँदा कर्मचारी घर गइसकेको भन्दै फाराम छोडेर जानु भन्नु भयो,’ उनले लेखेका छन्, ‘पैसा लिएर सेवा बिक्री गर्न भन्दा यताबाट उता जाउ, आज होइन भोलि भन्ने जवाफ आउँछ ।’
@ndcl_nt यो त अति नै भयो। तुरुन्तै Action मा जानुहोला।
— Baikuntha Aryal (@Baikuntha_Aryal) January 18, 2022
निजी आईएसपी (एउटा कम्पनीको नाम उल्लेख गर्दै) ले जुनसुकै शाखामा जाँदा समेत पैसा बुझ्ने र तत्काल भर्याङ बोकेर आउने दृष्टान्त दिँदै उनले आफू टेलिकमका कर्मचारीसँग बाझ्नुपरेको समेत सुनाएका छन् । ‘उल्टै हाम्रो नियम, प्रक्रिया हुन्छ भन्ने उत्तर आयो,’ ती प्रयोगकर्ताले भनेका छन्, ‘बाझेपछि एउटा नम्बर दिएर फोन गर्नु र इस्टमेट गराउनु भने ।
तर फोन गर्दा आज हुँदैन, भोलि अफिस आउनु भने ।’ फेसबुक प्रयोगकर्ताको यही गुनासो ट्वीटरमा राख्दै अर्का प्रयोगकर्ताले मेन्सन गरेपछिको प्रतिक्रियामा सञ्चार सचिव अर्यालले अति भएको भन्दै तत्काल एक्सनमा जान टेलिकमलाई निर्देशन दिएका हुन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
