काठमाडौं । बजारमा दर्जनौं वेब ब्राउजर भएपनि गुगल क्रोम बढी प्रयोग हुने ब्राउजर हो । जुन स्मार्टफोनमा समेत धेरैले प्रयोग गर्दै आएका छन् । यस्तोमा कम्पनीले समय समयमा नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ ।
यसै क्रममा कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचरका साथ नयाँ भर्सनको परीक्षण गरेको छ । जसमा प्रयोगकर्ताले गुगल क्रोम चलाउँदा त्यहाँ खोलिने ट्याबहरुको हुनसक्ने महत्वलाई ध्यानमा दिँदै यो फिचर उपलब्ध गराउने भएको हो ।
यसको अर्थ अब कुनै ट्याब खोलिएको छ भने उक्त ट्याब बिना कुनै जानकारी बन्द नहोस् भन्ने उद्देश्यले बन्द हुनुअघि प्रयोगकर्तासँग अनुमति माग्नेछ । त्यो हुँदा यदि कुनै ट्याब महत्वपूर्ण छ भने त्यो बन्द नगर्ने भनेर क्यान्सिल गर्न सकिन्छ ।
गुगल क्रोमको यो नयाँ फिचरको विषयमा टेकडोस र एन्ड्रोइड पुलिसले जानकारी सार्वजनिक गरेका हुन् । उनीहरूका अनुसार गुगल क्रोमले नयाँ भर्सनको रुपमा क्रोम क्यान्री १०० सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।