काठमाडौं । वैदेशिक रोजगार बोर्डमार्फत हुने भुक्तानी अब अनलाइनबाटै हुने भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) मा जडान गर्दै बोर्डले भुक्तानीलाई स्वचालित प्रणालीमा ल्याएको हो । त्यसका लागि दुई संस्था बिच बुधबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआई अन्तर्गतको प्रणालीमा जोडी सोझै लाभग्राहीको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।
यसले वैदेशिक रोजगारीमा अपांगता अथवा मृत्यु भएका कामदारको क्षतिपुर्तीको भुक्तानी, भेण्डर भुक्तानीलगायत सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित रुपमा हुनेछ । यसअघिसम्म बोर्डको सम्पूर्ण भुक्तानी चेक मार्फत हुँदै आएको थियो । नयाँ प्रणाली लागू भएसँगै बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।