काठमाडौं । क्रोम ब्राउजरमार्फत् संकलन हुने प्रयोगकर्ताको विवरणमा कडाइ गर्ने गुगलले यसअघि नै घोषणा गरेको थियो । अब भने कम्पनीले एन्ड्रोइडमा आधारित माेबाइल एपबाट प्रयोगकर्ताको विवरण संकलन गर्ने प्रक्रियामा पनि कडाइ गर्ने भएको छ ।
कम्पनीले ‘प्राइभेसी स्यान्डबक्स’ नामक परियोजनामार्फत् यस्तो काम गर्न लागेको हो । यो निर्णयले विज्ञापनकर्ताहरुले संकलन गर्नसक्ने प्रयोगकर्ताको विवरणलाई सीमित पारिनेछ ।
गुगलको प्रतिस्पर्धी एप्पलले भने यसअघि नै प्रयोगकर्ताको विवरण संकलन गर्ने प्रक्रियामा कडाइ गर्न थालिसकेको छ । आईओएसमा प्रयोग हुने एपले प्रयोगकर्ताको विवरण संकलन गर्नुअघि प्रयोगकर्ताबाट स्वीकृति लिनुपर्ने नियम लागू भइसकेको छ ।
एप्पलको यो कदमले अर्को ठूलो प्रविधि कम्पनी मेटालाई पनि दबाब पर्ने अनुमान छ । मेटाले अहिले पनि प्रयोगकर्ताको विवरणमार्फत् उनीहरुको आनीबानीबारे जानकारी लिने गरेको छ ।
एप्पलले आफ्नो प्लेटफर्ममा भएको एपले प्रयोगकर्ताको विवरण लिनुअघि प्रयोगकर्ताको पूर्व स्वीकृति लिनुपर्ने नियम लागू गरेसँगै मेटालाई १० अर्ब बराबरको घाटा हुने समाचार सार्वजनिक भएको थियो ।
अहिले विश्वभर प्रयोग हुने कुल स्मार्टफोनमध्ये ८५ प्रतिशत स्मार्टफोन एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छन् । गुगलको यो कदमले मेटाजस्ता प्रयोगकर्ताको विवरण संकलनमा निर्भर कम्पनीलाई थप दबाब पर्ने अनुमान छ ।