काठमाडौं । चाँडै नै नथिङ ब्रान्डको पहिलो स्मार्टफोन बजारमा आउने भएको छ । यही मार्च वा अप्रिलमा कम्पनीको पहिलो स्मार्टफोन सार्वजनिक हुने बताइएको छ ।
लिक रिपोर्ट अनुसार नथिङ स्मार्टफोन नथिङ इयरबड्सकै जस्तो पारदर्शी डिजाइनमा आउनसक्ने अपेक्षा गरिएको छ नथिङको आगामी स्मार्टफोनको बारेमा त्यति विस्तृत विवरण उपलब्ध छैन । तर पनि उक्त स्मार्टफोन सार्वजनिक हुने विषयलाई लिएर कम्पनीका संस्थापक कार्ल पेईले नियमित टिजर दिँदै आएका छन् ।
नथिङ स्मार्टफोनको मूल्यको विषयमा पनि कुनै जानकारी बाहिर आएको छ । तर पनि नथिङ ब्रान्डको पछिल्लो रेकर्ड हेर्ने हो भने कार्ल पेईले फ्ल्यागशिप स्मार्टफोनलाई माथ दिनेगरी मध्यम अथवा प्रिमियम मूल्य रहने अनुमान गर्न सकिन्छ ।
वनप्लसलाई एउटा ब्रान्डको रुपमा स्थापित गर्ने व्यक्तिको रुपमा परिचित कार्ल पेई सन् २०१० मा नोकियामा आवद्ध भएका थिए । त्यसको एक वर्षपछि नोकिया छोडेर उनी हङ्गकङमा रहेको मेजु नामक कम्पनीमा जोडिए ।
कार्ल पेई सोही वर्ष ओप्पोमा आवद्ध भए । त्यसपछि डिसेम्बर २०१३ मा पिट लाउसँग मिलेर वनप्लसलाई जन्म दिए । वनप्लसलाई लोकप्रिय ब्रान्ड बनाएपछि उनले डिसेम्बर २०२० मा उक्त कम्पनी छोडेका थिए ।
त्यसपछि २७ जनवरी २०२१ मा नथिङ नामक कम्पनी स्थापना गरेर एयरबड बजारमा ल्याए । उनको यस किसिमको पृष्ठभूमिले गर्दा कार्ल पेईले ल्याउने स्मार्टफोनले बजारमा उल्लेखनीय उपस्थिति जनाउन सक्ने अपेक्षा गरिएको छ ।