काठमाडौं । अमेरिकी कम्पनी कोजेन्ट कम्युनिकेसनले रुसमा इन्टरनेट सेवा बन्द गरेको छ । रुस र युक्रेनबीच जारी पछिल्लो युद्धको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले रुसमा आफ्नो सेवा बन्द गर्ने निर्णय लिएको हो ।
कोजेन्ट विश्वकै सबैभन्दा ठूलो मध्यको एक इन्टरनेट ब्याकबोन नेटवर्क हो । जसको नेटवर्कमार्फत विश्वको एक चौथाइ इन्टरनेट ट्राफिक प्रवाह हुने गरेको छ ।
जसका ग्राहक साना व्यवसायीदेखि ठूला मोबाइल सेवाप्रदायक र इन्टरनेट सेवा प्रदायक रहेका छन् । जसले एक सेकेन्डमा हजारौं टेराबाइट इन्टरनेट डेटा बोक्ने गर्दछ ।
त्यसभन्दा पनि कोजेन्टका दर्जनाैं ग्राहक मध्ये रुसको सरकारी टेलिकम कम्पनी रोसटेलिकम पनि रहेको छ । कोजेन्टको यस किसिमको निर्णयसँगै उक्त टेलिकम कम्पनीको सेवा तथा त्यहाँका विभिन्न इन्टरनेट सेवा प्रदायमा समस्या पर्ने देखिएको छ ।
अहिले नै त्यहाँका प्रयोगकर्ताले इन्टरनेट स्लो भएको अनुभव व्यक्त गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममहरूले जनाएका छन् । यदि कोजेन्टले जस्तै अन्य सेवा प्रदायकले पनि यसरी नै सेवा बन्द गरेको खण्डमा रुस अन्तर्राष्ट्रिय नेटवर्कबाट पूर्ण रुपमा बाहिरिने छ ।
हुन त रुसले यसअघि नै सन् २०२५ बाट अन्तर्राष्ट्रिय इन्टरनेटबाट बाहिरिने योजनाका साथ तयारी अघि बढाइसकेको छ । तर, पनि तत्कालको अवस्थामा भने रुसका लागि यो निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।