काठमाडौं । स्विडेनको कार उत्पादक कम्पनी भोल्भोले विद्युतीय गाडीमा वायरलेस चार्जिङ प्रविधिको परिक्षण गरिरहेको छ । विद्युतीय गाडीहरूलाई चार्ज गर्न प्रयोगकर्ताको सहजतालाई ध्यान दिदैँ कम्पनीले यो प्रविधिको परिक्षण गरिरहेको हो ।
यो प्रविधि अन्तर्गत प्रयोगकर्ताले आफ्नो सवारी चार्ज गर्नको लागि कुनै चार्जिङ स्टेसन गइरहन जरुरी छैन । अर्थात पार्किङ गर्ने ठाउँहरूमा चार्जिङ स्टेसनको साटो चार्जिङ प्याड इन्स्टल गरिएको छ । जब पार्किङको लागि गाडी आउँछ तब ती प्याडको माथि गाडी पार्क भइरहेको अवस्थामा नै स्वत चार्ज हुन्छ ।
यसले गर्दा प्रयोगकर्तालाई चार्जिङ स्टेसन सम्म पुग्नुपर्ने वाध्यता रहदैन र चार्जिङको लागि छुट्टै समय पनि छुटाउनु पर्ने हुन्न। यो प्रविधिको लागि भोल्भोले विगत तीन वर्षदेखि काम गरिरहेको छ । कम्पनीले हाल यो प्रविधिको परिक्षण आफ्नो उत्पादन पूर्ण विद्युतीय भोल्भो एक्ससी४० ट्याक्सीहरूमा गरिरहेको छ । कम्पनीले यो चार्जिङ प्याड स्विडेनको विभिन्न शहरहरूको पार्किङ स्थलहरूमा उपलब्ध गराएको छ जहाँ उक्त ट्याक्सीहरूले सहजै पार्किङमा नै चार्ज गर्न सक्नछन् ।