काठमाडौं । एप्पलले नयाँ आईप्याड एयर सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै कम्पनीले पाँचौं पुस्ताको आईप्याड एयर सार्वजनिक गरेको हो । यसका अतिरिक्त कम्पनीले नयाँ आईफोन एसई र म्याक स्टुडियो कम्प्युटर पनि सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको आईप्याड एयरमा एप्पलको एमवान प्रोसेसर प्रयोग गरिएको छ । यसअघि यो प्रोसेसर आईप्याड प्रो र म्याकबुक प्रो जस्ता मोडेलमा प्रयोग गरिएको थियो ।
साथै यो आईप्याड एयरले फाइभजी सपोर्ट पनि सपोर्ट गर्नेछ । प्रयोगकर्ताले खरिद गर्दा वाई-फाई माेडल मात्रै पनि किन्न सक्नेछन् ।
यसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्सको फ्रन्ट क्यामेरा छ । जसमा सेन्ट्रल स्टेज भन्ने फिचर समावेश छ । यो फिचर प्रयोग गरी अझ उत्कृष्ट भिडिओ कन्टेन्ट बनाउन सकिने कम्पनीको भनाइ छ ।
प्रयोगकर्ताले यसबाट राम्राे फोटो खिच्न, फोरके भिडिओ रेकर्ड गर्न, डकुमेन्ट स्क्यान गर्न तथा उत्कृष्ट एआर अनुभव गर्नसक्ने कम्पनीले जनाएकाे छ ।
साथै यसमा भएको सेन्ट्रल स्टेज फिचरले भिडिओ कल गर्दा त्यहाँ देखिएको कुरालाई बीचमा राखिदिन्छ । धेरै मानिस हुँदा फ्रेममा नअटेको अवस्थामा जुम ईन भएर सबैलाई एउटै फ्रेममा केन्द्रित गर्छ ।
त्यस्तै यो आईप्याड एयरले फाइभजी सपोर्ट समेत गर्छ, जसअन्तर्गत प्रयोगकर्ताले ३.५ जीपीबीएस सम्मको स्पिडमा वायरलेस कनेक्सनको अनुभव लिनसक्नेछन् । ईसिम र वाई-फाई सिक्स सपोर्ट गर्ने भएकाले यसले कनेक्टिभिटीमा नाैलाे स्वाद दिने कम्पनीकाे भनाइ छ ।
कन्टेन्ट क्रिएटर, गेमर, विद्यार्थी लगायतका लागि लक्षित गर्दै कम्पनीले किफायती मूल्यमा यो डिभाइस ल्याएको कम्पनीको दाबी छ ।
आईप्याड एयरको वाई-फाई मोडलको मूल्य ५९९ डलर (करिब ७३ हजार पाँच सय रूपैयाँ) बाट सुरू हुन्छ भने वाई-फाई प्लस सेलुलर मोडलको मूल्य ७४९ डलर (करिब ९२ हजार रूपैयाँ) बाट सुरू हुन्छ ।
यो आईप्याड एयर ६४ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा विभिन्न पाँच कलरमा खरिद गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा मार्च ११ देखि यसको प्रिअर्डर सुरु हुनेछ भने बिक्री मार्च १८ देखि हुनेछ ।