काठमाडौं । एप्पलले एमवान आल्ट्रा चिप सहितको म्याक स्टुडियो सार्वजनिक गरेको छ । यो पहिलेको म्याक मिनीभन्दा केही अग्लो छ । अग्लो बनाइएको भागमा ठूलाे साइजकाे फ्यान जडान गरिएको छ । जसले गर्दा कम्प्युटरको तापक्रम कम राख्न सकिन्छ ।
एप्पलले २७ इन्चको छुट्टै डिस्प्ले पनि सार्वजनिक गरेको छ, जसलाई स्टुडियो डिस्प्ले भनिएको छ । यसमा फाइभके रेजाेलुसनका साथै एप्पल चिप, स्पिकर र क्यामेरा समावेश गरिएको छ ।
सो कम्प्युटरले हाई पर्फमेन्सको एमवान अल्ट्रा प्रोसेसर प्रयोग गर्छ, जुन पहिले भएको एमवान चिपभन्दा झनै शक्तिशाली हुने कम्पनीकाे दावी छ । एप्पलले याे चिप विश्वकै शक्तिशाली चिप भनेर दावी गरेकाे छ ।
पुरानो एमवान म्याक्स चिप भएको म्याक स्टुडियोको मूल्य १,९९९ डलर (दुई लाख ४५ हजार रूपैयाँ) बाट सुरु हुन्छ । त्यस्तै अहिलेको एमवान अल्ट्रा चिप मोडेलको मूल्य ३,९९९ डलर (करिब चार लाख ८८ हजार रूपैयाँ) पर्न जान्छ भने स्टुडियो डिस्प्लेको मूल्य १,५९९ डलर (करिब एक लाख ९६ हजार रूपैयाँ) पर्छ ।
एप्पलका अनुसार एप्पलले अल्ट्रा फ्युजन नामक कनेक्सन टेक्नोलोजी प्रयोग गरेर एमवान अल्ट्रा पहिलेको एमवान चिपभन्दा दोब्बर ठूलो बनाएको बताएको छ ।
एप्पलले यसमा अन्य पीसी चिपभन्दा बढी ट्रानसिस्टर सहित ६४-कोर ग्राफिक्स प्रोसेसर समावेश गरिएको जनाएको छ । एमवान अल्ट्रा सहितकाे म्याक स्टुडियो म्याक प्रोको तुलनामा ८० प्रतिशत फास्ट रहेको एप्पलकाे दावी छ ।