काठमाडौं । काउन्टरप्वाइन्ट रिसर्चले सन् २०२१ को चौथो त्रैमासिक अवधिमा विश्वभर सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ ।
यस्ता ‘टप टेन’ स्मार्टफोनको सूचीमा सात ओटा एप्पल आईफोनहरू छन् । जसमा आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन १३ लाई समेत पछि पार्दै आईफोन ट्वेल्भ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनमा परेको छ ।
एप्पलले सन् २०२१ मा आफ्नो पछिल्लो आईफोन थर्टिन सिरिज सार्वजनिक गरेको थियो । जुन अन्तिम चौमासिकमा ग्राहकलाई आकर्षित गर्न निकै सफल सावित भयो ।
एप्पल बाहेक साओमी र सामसङ मात्रै त्यस्ता कम्पनी हुन्, जसले सन् २०२१ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको ‘टप टेन’को सूचिमा स्थान बनाउन सफल भएका छन् ।
बजार अनुसन्धान फर्म काउन्टरप्वाइन्टका अनुसार सन् २०२१ मा उत्कृष्ट पाँच मोडल एप्पलकै रहेका छन् । ज समा आईफोन ट्वेल्भ सबैभन्दा धेरै बिक्री हुने मोडेलको रुपमा रहन सफल भएको छ ।
त्यसपछि आईफोन ट्वेल्भ प्रो म्याक्स, आईफोन थर्टिन र आईफोन ट्वेल्भ प्रो र आईफोन इलेभेन रहेका छन् । एप्पल बाहेक यो सूचीमा सामसङ ग्यालेक्सी ए ट्वेल्भ समावेश भएको छ, जुन ‘टप टेन’को सूचीमा छैटौँ नम्बरमा रहेको छ ।
सँगसँगै साओमीको रेड्मी नाइन ए र रेड्मी नाइनले समेत सन् २०२१ को ‘टप टेन’ स्मार्टफोनको सूचीमा आफ्नो स्थान बनाउन सफल भएका छन् । काउन्टरप्वाइन्टका अनुसार साओमीका दुवै मोडेलको कुल बिक्रीले २२ प्रतिशत हिस्सा ओगटेको छ ।