close

चिपसेट अभाव र रुस-युक्रेन युद्धले बढ्यो इन्टरनेट उपकरणको मूल्य, दबाबमा सेवा प्रदायक 

टेकपाना टेकपाना

फागुन २९, २०७८ १२:२२

चिपसेट अभाव र रुस-युक्रेन युद्धले बढ्यो इन्टरनेट उपकरणको मूल्य, दबाबमा सेवा प्रदायक 

काठमाडौं । चिपसेट अभाव र पछिल्लो समय जारी रुस-युक्रेन युद्धको प्रभाव नेपालको इन्टरनेट बजारमा समेत परेको छ । चर्को मूल्य वृद्धि र समयमै सामान आपूर्ति नहुँदा इन्टरनेट सेवा प्रदायक दबाबमा परेका हुन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार चिपसेट अभावका कारण पछिल्लो समय इन्टरनेट सेवामा आवश्यक पर्ने सामग्रीको मूल्य आकाशिएको छ ।

‘बढेको मूल्य तिर्न तयार हुँदा समेत महिनौँसम्म सामान नपाउने अवस्था छ,’ उनले भने ।

इन्टरनेट सेवा प्रदायकहरूका अनुसार राउटर, स्विच, यूपीएस, ब्याट्री, सर्भर, ओएनयू आदि जस्ता सामग्री अभाव हुन थालेको छ । जसले गर्दा बढ्दो प्रतिस्पर्धाबीच सेवा विस्तार गर्न र नयाँ परियोजना सम्पन्न गर्न ढिलाइ भइरहेको डिशहोम फाइबर नेटका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

नेपालमा आपूर्ति हुने अधिकांश इन्टरनेट उपकरण तथा सामग्री चीनबाटै आउने गरेको छ । पर्याप्त स्टक राखेका सेवा प्रदायकलाई खासै समस्या नपरेको भए पनि अधिकांश सेवाप्रदायक दबाबमा छन् ।

चिपसेट अभावले दबाबमा रहेको प्रविधि क्षेत्र रुस र युक्रेनबीच जारी युद्धले झन् समस्यामा परेको हो । रुस युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विश्वव्यापी रुपमा आपूर्ति शृङ्खला नै प्रभावित हुन पुगेको आचार्यको भनाइ छ ।

‘यसबाट आपूर्ति प्रणाली नै अस्तव्यस्त भएको छ,’ उनले भने, ‘जसले गर्दा मूल्य वृद्धि र आवश्यक सामग्रीको अभाव देखिएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२