काठमाडौं । एप्पलले गत मार्च ८ मा विश्व बजारमा सार्वजनिक गरेको आईफोन एसई २०२२ नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने भएको छ ।
नेपालस्थित एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन कम्युनिकेशन नेक्स्ट प्रालिले आईफोनको योे मोडल आगामी दुई साताभित्र नेपाली बजारमा उपलब्ध गराउने तयारी गरेको छ ।
६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने आईफोन एसईको नेपाली मूल्य भने कम्पनीले खुलाएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा भने यसको मूल्य ४२९ डलर (साढे ५२ हजार रुपैयाँ) बाट सुरू हुन्छ । ग्राहकले मिडनाइट (ब्ल्याक), स्टारलाइट (ह्वाइट) र प्रडक्ट रेड कलरमा यो आईफोन किन्न सक्नेछन् ।
यो फोनको बडी स्टाइल सन् २०१७ मा सार्वजनिक भएको आईफोन ८ जस्तै देखिन्छ । कम्पनीले नयाँ प्रोसेसर र फाइभजी सपोर्ट सहित यो आईफोन मोडल ल्याएको हो ।
यसमा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जुन हामीले आईफोन १३ सिरिजमा देखेका थियौं । यो चिपले अहिलेसम्मकै फास्टर प्रोसेसिङ स्पिड दिने कम्पनीको दाबी छ ।
आईफोन एसई २०२२ मा १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने ७ मेगापिक्सेलको सेल्फी क्यामेरा छ, जसले फोरके भिडिओ क्याप्चर गर्नसक्छ ।
चिपसँगै फोनको क्यामेरामा पनि नयाँ विशेषता समावेश गरिएका छन् । जसमा स्मार्ट एचडीआर ८, फोटाग्राफिक स्टाइल्स, डिप फ्युजन लगायतका विशेषता छन् ।
त्यस्तै वाटर रेसिस्टेन्सका लागि फोनमा आईपी६७ प्रविधि प्रयोग गरिएको छ । ४.७ इन्चको एलसीडी डिस्प्ले रहेको फोनमा धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचर छन् ।