close

के साँच्चिकै असान्दर्भिक प्रश्न सोधेको भन्दै पत्रकारमाथि प्रहरीले गुलेली चलाएकै हो ?

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १८:९

के साँच्चिकै असान्दर्भिक प्रश्न सोधेको भन्दै पत्रकारमाथि प्रहरीले गुलेली चलाएकै हो ?

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा युगान्डाका नवनियुक्त प्रहरी प्रवक्ताले असान्दर्भिक प्रश्न सोधेको भन्दै पत्रकारमाथि गुलेलीले हानेको दाबी गरिएको तस्वीर भाइरल भइरहेको छ ।

यो तस्वीर अनेकन् ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन्, जसमा एक प्रहरी पत्रकार सम्मेलनका क्रममा गुलेली ताकिरहेको अवस्थामा देखिन्छन् ।

गुलेली तन्काइरहेका उनको अघिल्तिर थुप्रै माइकहरू रहेको समेत देखिन्छ । ‘असान्दर्भिक प्रश्न सोधेको भन्दै हालै नियुक्त भएका युगान्डा प्रहरीका प्रवक्ताले पत्रकारमाथि गुलेली चलाएका छन्,’ ट्वीटरमा तस्वीर शेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन् ।

उक्त ट्वीट यो समाचार तयार पार्दासम्म झन्डै १० हजार पटक रिट्वीट भएको छ भने त्यसमा करिब २६ हजार लाइक आएका छन् । अर्का ट्वीटर प्रयोगकर्ताले समेत उस्तै दाबीसहित तस्वीर शेयर गरेका छन् ।

यस्तो छ भाइरल तस्वीर पछाडिको कारणः

के साँच्चिकै प्रहरी प्रवक्ताले असान्दर्भिक प्रश्न सोधेको नाममा पत्रकारमाथि गुलेली चलाएकै हुन्, अथवा यो दाबी नै गलत हो ?

तर वास्तवमा यो दाबी नै गलत रहेको पाइएको छ । युगान्डाका कुनै पनि प्रहरी प्रवक्ताले पत्रकारमाथि गुलेली चलाएका छैनन् ।

वास्तवमा यो तस्वीर गत वर्षको हो । युगान्डा रेडियो नेटवर्कको रिपोर्ट अनुसार कम्पाला क्षेत्रमा डेलिभरीका लागि लैजाँदै गरेका खतरनाक गुलेली बरामद भएपछि प्रहरीले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी गराएको थियो ।

प्रेस ब्रिफिङका क्रममा प्रहरी प्रवक्ता फ्रेड एनेङ्गाले ती गुलेलीको खतराबारे औँल्याउँदै अपनाउनुपर्ने सतर्कताको बारेमा बताएका थिए ।

त्यसैले यो भाइरल तस्वीर अहिलेको नभएर सन् २०२१ को पत्रकार सम्मेलनका क्रममा लिइएको हो । युगान्डा प्रहरीले समेत यस बारेमा स्पष्टीकरण दिएको छ ।

केन्याका अधिवक्ता अहमेद नासिर अबदुल्लाहीले उक्त तस्वीर शेयर गर्दै युगान्डा प्रहरीलाई मेन्सन गरेका थिए । जसमा युगान्डा प्रहरीले उक्त दाबी नै गलत रहेको स्पष्ट पारेको छ । त्यसपछि अबदुल्लाहीले आफ्नो ट्वीट डिलिट गरेका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२