close

नक्कली विज्ञप्तिको भर परेर पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवबारे समाचार बनाउँदा चिप्लिए मिडिया

टेकपाना टेकपाना

असार ३, २०८३ १५:४१

नक्कली विज्ञप्तिको भर परेर पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवबारे समाचार बनाउँदा चिप्लिए मिडिया

काठमाडौँ । बुधबार दिउँसो अनलाइन न्युज पोर्टल ‘रातोपाटी’, ‘नेपाल प्रेस’ लगायतमा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा २३ असारमा निर्मल निवास तीन घण्टाको लागि सर्वसाधारणका लागि खुला हुने भन्दै समाचार प्रकाशित भयो । पूर्वराजा शाहका ‘सम्वाद सचिव फणिराज पाठकले विज्ञप्ति जारी गरेर जानकारी दिएको’ भन्दै २३ असार ११ बजेदेखि २ बजेसम्म सर्वसाधारणका लागि निर्मल निवास खुला हुने समाचारमा उल्लेख थियो । यही दाबीसहितको विज्ञप्ति सामाजिक सञ्जालमा कयौँ प्रयोगकर्ताले शेयर समेत गरे । 

तर, पछि उक्त दाबी झुटो भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद प्रमुख पाठकले खण्डन गरे । पाठकको खण्डनपछि बल्ल सञ्चारमाध्यमले आफूले आधार मानेको विज्ञप्ति गलत भएको र गलत समाचार सम्प्रेषण गरेको थाहा पाए । त्यसपछि  ‘रातोपाटी’, ‘नेपाल प्रेस’ ले समाचार सच्याएका छन् । तर, सामाजिक सञ्जालका कतिपय पेजहरूले नक्कली विज्ञप्ति अझै हटाएका छैनन् । 

के थियो दाबी ?  

‘रातोपाटी’ ले बुधबार मध्यान्ह १२:१९ मा ‘पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला’ शीर्षकमा समाचार सार्वजनिक गर्‍यो । निर्मल निवासमा पूर्वराजा शाहले ८० औँ जन्मोत्सव मनाउने भएको र दिउँसो ११ देखि २ बजेसम्म आम नागरिकका लागि खुला रहने उक्त समाचारमा उल्लेख गरियो

समाचारमा लेखिएको थियो, “काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव निर्मल निवासमा मनाउने भएका छन् ।  पूर्वराजा शाहका सम्वाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा असार २३ गते शाहको जन्मोत्सव निर्मल निवासमा मनाउने जनाएका छन् । ‘जनचाहाना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ’, पाठकले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘सबै शुभेच्छुक, जनसमुदाय, सङ्घसंस्था, तथा आम नागरिकहरूका निम्ति असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ ।’”

हेर्नुहोस् आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

 

सोही समाचार रातोपाटीको भेरिफाइड फेसबुकमा पनि शेयर गरिएको थियो । उक्त पोस्ट अहिले डिलिट गरिएको छ । हेर्नुहोस् फेसबुक पोस्टको लिङ्क र स्क्रिनशट । 

 

‘नेपाल प्रेस’ले पनि सोही दाबीसहित बुधबार मध्यान्ह १२:५४ मा समाचार पोस्ट गरेको थियो । उक्त समाचारमा पनि निर्मल निवासमा पूर्वराजा शाहले जन्मोत्सव मनाउन लागेको र ‘जनचाहना’ अनुसार समारोह आयोजना गर्दै तीन घण्टाको लागि सर्वसाधारणका लागि खुला गर्न लागिएको दाबी गरिएको थियो । 

समाचारमा लेखिएको थियो, “पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन् । जनचाहना अनुसार जन्मोत्सव समारोह आयोजना गरिएको पूर्वराजाको सम्वाद सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार जन्मोत्सव समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम छ । सबै सुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला राखिने सम्वाद सचिव फणिराज पाठकले बताएका छन् ।” 

हेर्नुहोस् आर्काइभ लिङ्क र स्क्रिनशट । 



यस्तै, ‘Insurance Khabar’ नामको फेसबुक पेजले पनि पूर्वराजा शाहको जन्मोत्सवका कारण २३ असारमा ३ घण्टाको लागि सर्वसाधारणलाई खुला गरेको दाबीसहित पोस्ट सार्वजनिक गरेको छ । पोस्टमा लेखिएको छ, “पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला रहने” । 

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

वास्तविकता के हो ? 

सञ्चारमाध्यमहरूले स्रोत मानेर विज्ञप्तिलाई नियालेर हेर्दा ज्ञानेन्द्र पछि ‘बिक्रम शाहदेवको ८० औ’ लेखिएको फन्ट अन्य शब्दहरूको फन्टभन्दा फरक भएको देख्न सकिन्छ । यी शब्दहरूको पछाडि पहिले लेखिएका कुरालाई इरेज गरेर बाँकी रहेको कालो कालो दाग देखिएको छ । यसले उक्त विज्ञप्ति नक्कली रहेको सङ्केत गर्छ । 

हामीले यससँग सम्बन्धित केही जानकारी पूर्वराजपरिवारको जानकारी दिने फेसबुक पेजमा केही राखिएको छ कि भनेर खोज्यौँ । भेरिफाइड फेसबुक पेज ‘The Royal Family Nepal’ मा उक्त विज्ञप्ति गलत भएको दाबी गरिएको छ । जहाँ लेखिएको छ, “श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवको सन्दर्भमा सम्वाद सचिवालय द्वारा जारी भएको बिज्ञप्ति भन्दै सामाजिक संजालमा फैलिएको गलत सूचना प्रती सम्वाद सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै सम्वाद सचिवालय बाट हाल कुनैपनी प्रकारको सूचना जारी नगरिएको तथ्य सबैमा सुचित गर्दछु । - डा. फणिराज पाठक” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

 

त्यसपछि हामीले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिव फणिराज पाठकलाई टेलिफोन सम्पर्क गर्‍यौँ । विगतका वर्षमा पूर्वराजा शाहको जन्मदिनमा निर्मल निवास खुला भएका घटना भएपनि यस वर्षका लागि हालसम्म कुनै सार्वजनिक सूचना जारी नभएको उनले बताए । पाठकले टेकपाना फ्याक्टचेक डेस्कसँग भने, “यस वर्षको जन्मोत्सवमा निर्मल निवास खुला हुने भनेर मैले कुनै विज्ञप्ति सार्वजनिक गरेको छैन । यस सम्बन्धी आएका समाचारहरू झुटा हुन् ।” 

गल्ती थाहा पाएपछि सच्याइए समाचार 

गलत विज्ञप्ति राखेको थाहा पाएपछि नेपालप्रेस र रातोपाटीले समाचार सच्याएका छन् । रातोपाटीले पूर्वाराजाको सम्वाद सचिव पाठकसँग कुराकानी गरेर समाचार सच्याएको छ । समाचारमा सच्याउँदै ‘पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत : पाठक*’ शीर्षकमा समाचार राखिएको छ । 

यसअघि समाचार गलत लेखेको सच्याएको जानकारी दिँदै लेखिएको छ,“यसअघि पूर्वराजाको जन्मोत्सवसम्बन्धी समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।*-सम्पादक” । हेर्नुहोस् रातोपाटीले सच्याएको समाचार र स्क्रिनशट । 

नेपाल प्रेसले पनि उक्त समाचार झुटो भएको भन्दै पुरानो समाचार हटाउँदै माफी मागेको छ । उक्त समाचारको लिङ्क खोल्दा यस्तो देखिन्छ, “पूर्वराजाको संवाद सचिवालयका नाममा जारी विज्ञप्ति ‘फेक’ रहेको पाइएकाले यो समाचार हटाइएको छ । पाठकवर्गको असुविधाका निम्ति क्षमाप्रार्थी छौं ।”

‘पूर्वराजाले जन्मोत्सव मनाउने सम्बन्धी विज्ञप्ति ‘फेक’: फणिराज पाठक’ शीर्षकमा नेपाल प्रेसले अर्को समाचार पनि लेखेको छ । उक्त समाचारमा लेखिएको छ, “यसअघि सचिवालय निकाल्ने ढाँचाकै विज्ञप्ति आएपछि नेपाल प्रेससहितका सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । विज्ञप्तिमा असार २३ गते पूर्वराजालाई शुभकामना दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने उल्लेख थियो । नेपाल प्रेससँग कुरा गर्दै पाठकले यो विज्ञप्ति झुट्टा रहेको बताए ।” हेर्नुहोस् समाचार । 

तर, ‘Insurance Khabar’ ले भने यो सामग्री तयार पार्दासम्म आफ्नो सामाजिक सञ्जालमा राखेको ‘फेक’ विज्ञप्तिको आधारमा राखिएको पोस्ट हटाएको छैन ।

पछिल्लो अध्यावधिक: असार ३, २०८३ १६:१२